ताजा समाचार:
Search

पुरा भएन ८३ वर्षीय कार्लोसको धौलागिरि चढ्ने सपना

ठाकुरप्रसाद आचार्य/म्याग्दी
जेठ ३ गते ।

स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरियाको धौलागिरि शिखर चुम्ने १३ औं पटकको प्रयास पनि असफल भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदी स्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल चढ्ने कार्लोसको यसपालीको सपना पनि अधुरो भयो ।

सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न कार्लोस एकमहिना अघि आधारशिविर पुग्नुभएको थियो । आधारशिविरमा रोकिनुभएका कार्लोस मौसममा सुधार आएसँगै केही दिन अघि ७ हजार दुईसय मिटर उचाईमा रहेको तेस्रो क्याम्पमा पुग्नुभएको थियो ।
‘‘कार्लोस सोरिया तेस्रो क्याम्पबाट शिखर चढ्दै हुनुहुन्थ्यो,अचानक उहाँको खुट्टा मर्कियो,’’ सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईले भन्नुभयो,‘‘ कार्लोसको धौलागिरि आरोहण गर्ने १३ औं पटकको प्रयास सफल हुनसकेन । उहाँ आधार शिविर ओर्लिदै हुनुहुन्छ । त्यहाँबाट हेलीकप्टरबाट काठमाण्डौं ल्याउने तयारी गरेका छौं ।’’

गत वर्ष १२ औँ पटकको प्रयासमा पनि कार्लोस ७ हजार मिटरको उचाइमा पुगेर फर्किनुभएको थियो । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका कार्लोसको दुई दशक यता १३ औँ पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पुरा हुनसकेन ।

सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राख्न कार्लोस यसपटक फेरी धौलागिरि आरोहण गर्न लाग्नुभएको थियो । कार्लोसको आरोहण दलको नेतृत्व मिङतेम्बा शेर्पाले गर्नुभएको थियो ।

सेभेन समिटका तर्फबाट यो सिजनमा २५ जना विदेशी आरोहीले धौलागिरिको आरोहण गर्न लागेका छन् । मंगलबार मात्र दुइजना पोल्याण्डका आरोहीले धौलागिरिको सफल आरोहण गरेका छन् ।

सेभेन समिट लगायत इलाइट र पाइनर एडभेन्चरको व्यवस्थापनमा आरोहीहरु धौलागिरि आरोहणका लागि पुगेका छन् । उनीहरु ७ हजार दुईसय तिस मिटर उचाईमा रहेको तेस्रो क्याम्पमा पुगेका छन् । अस्थिर मौसमका कारण धौलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरुको अनुभव छ । यस सिजनमा २४ पुरुष र ११ जना महिला गरी ३५ जनाले आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ । साभारः गोरखापत्र अनलाइन