मराङमा वडा कार्यालय भवन निर्माण शुरु

विकल्प न्यूज/बेनी
जेठ २ गते ।


म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन निर्माण शुरु भएको छ ।  धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको शिलन्याश गर्नुभएको छ । चार कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ ।

रु. एक करोड लागत अनुमान गरिएको भवन निर्माणका लागि पि एण्ड बि कन्ट्रक्सनले रु. ८५ लाखमा ठेक्का सम्झौता गरेको छ । आगामी असार महिनाभित्रमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको वडा अध्यक्ष राजाराम शर्माले जानकारी दिनुभयो ।

निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य सहित उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेको निर्माण कम्पनीका प्रतिनिधि शिव बानियाले बताउनुभयो ।

वि.स. २०७७ असार अन्तिम साताको पहिरोले आमा समूह भवनमा सञ्चालित वडा कार्यालयको सम्पूर्ण सामग्री बगाएको थियो । पहिरोले बगाएपछि मराङ स्वास्थ्य चौकीको भवनबाट वडा कार्यालयको सेवा सञ्चालन गरिएको छ ।

धवलागिरी गाउँपालिकाको वडा नम्बर २ र ७ को भवन निर्माण कार्य हालै सकिएको अध्यक्ष पुनले बताउनुभयो । घट्टखोलामा गाउँपालिकाको सुविधासम्पन्न भवन निर्माण धमाधम भैरहेको छ । यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकीको भवन निर्माण सकिएको, मुदीमा स्वास्थ्य चौकी भवन निर्माण शुरु भएको गाउँपालिकाले जनाएको छ ।