ताजा समाचार:
Search

मंगलाका चालिस बालविकास केन्द्रमा स्मार्ट कक्षाकोठा

विकल्प न्यूज/बेनी
बैशाख २५ गते ।


जिल्लाको मंगला गाउँपालिकाले ४० वटा बालविकास केन्द्रमा स्मार्ट कक्षा कोठा कार्यक्रम लागू गरेको छ । स्मार्ट कक्षा कोठा लागू भएपछि बालबालिकाको सिकाईमा अभिवृद्धि भएको छ ।

बालबालिकाको सिकाईमा शुद्धता र बालमैत्री तवरले सिकाई वातावरण तयार पार्न गाउँपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि बालविकास केन्द्रहरुमा स्मार्ट कक्षा कोठा कार्यक्रम लागू गरेको थियो । स्मार्ट कक्षा कोठाको व्यवस्था गरिएपछि बालबालिका पढाईप्रति आकर्षीत भएका छन् ।
बालविकासमा भर्ना भएका तिन देखि चार वर्ष उमेर समुहका बालबालिकालाई सूचना प्रविधिको प्रयोग गरेर रमाईलो तवरले पढ्ने वातावरण सिर्जना गर्न गाउँपालिकाले अििघल्लो वर्ष देखि स्मार्ट कक्षा कोठा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको पालिकाले जनाएको छ ।

पालिका भित्र रहेका ४० वटा वालविकास केन्द्रहरुमा स्मार्ट कक्षा कोठा निर्माण गरिएको मंगला गाउँपालिकाका शिक्षा अधिकृत डेकबहादुर बानियाँले जानकारी दिनुभयो । स्मार्ट कक्षा कोठामा बालबालिकाहरुले रुचिका साथ पढ्नुका साथै लामो समयमा सम्म कक्षाकोठामा बस्ने बानीको विकास भएको उहाँको भनाई छ । वाँकी बालविकास केन्द्रहरुमा पनि यसै आर्थिक वर्ष भित्र सो कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार स्मार्ट कक्षा कोठामा ३२ इन्चको स्मार्ट टिभी,बोल्ने किताब र कलम र मोवाइल(रिमोट) लगायत कक्षा कोठा व्यवस्थापनका लागि पालिकाले अनुदानका रुपमा एकमुष्ट ८५ हजार रुपियाँ उपलब्ध गराउँछ । उक्त रकममा विद्यालयले आवश्यकता अनुसार बजेट थप गरि कक्षा कोठा व्यवस्थापन गर्नुपर्दछ ।

स्मार्ट कक्षा कोठामा बालबालिकाहरु रमाइरमाई पढ्ने गरेको वडा नम्बर ३ स्थित पोखेर आधारभूत विद्यालयकी शिक्षिका भूमीसरा वुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सूचना प्रविधिको प्रयोग मार्फत बालबालिकाले छिटो सिक्ने,अक्षर चिन्न सजिलो र सिकाई दिगो हुने रहेछ ।’’
बोल्ने किताब र कलम हुन्छ बालबालिकाले किताबको अक्षरमा कलमले छोएपछि अक्षर अनुसार कलम बोल्ने हुँदा बालबालिकाले रमाइलो मानेर पढ्ने गरेको उहाँले बताउनुभयो । स्मार्ट कक्षाका कारण बालबालिकाको सिकाई अभिवृद्धि हुनुका साथै प्रभावकारी भएको पोखेर आधारभूत विद्यालयका प्रधानाध्यापक रणबहादुर पुनले बताउनुभयो ।

यस्तै वडा नम्बर २ सिमलचौर स्थित प्रभात आधारभूत विद्यालयकी बालविकास सहजकर्ता असल खड्काले स्मार्ट कक्षा कोठाका कारण बालबालिकाहरु नियमित रुपमा विद्यालयमा आउने गरेको बताउनुभयो । कक्षा कोठामा उपलब्ध सूचना प्रविधिका कारण बाबालिकाहरुलाई पढाउन निकै सजिलो भएको उहाँले अनुभव सुनाउनुभयो ।

पालिका भित्र लागू गरिएको स्मार्ट कक्षा कार्यक्रम प्रभावकारी भएकाले आगमी आर्थिक वर्षमा थप बालविकास केन्द्रमा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्थापन र शिक्षिकाहरुलाई तालिम उपलब्ध गराउने योजना रहेको पालिकाकाले जनाएको छ ।