बेनी नगरमा कमजोर प्रशासनीक नेतृत्वः पूँजीगत खर्च न्यून

विकल्प न्यूज\बेनी
चैत १० गते ।

बेनी नगरपालिकामा कमजोर प्रशासनीक नेतृत्वका कारण अपेक्षित रुपमा विकास बजेट खर्च हुनसकेको छैन । नगरले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म जम्मा २९.७९ प्रतिशत पूँजीगत खर्च गरेको छ ।

जनप्रतिनिधिले निर्माण गरेको बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वनय गर्ने मुख्य दायित्व नगरको प्रशासनीक नेतृत्वको हुन्छ । तर कमजोर नेतृत्वका कारण दोस्रो चौमासिक सम्म आउँदा नगरको प्रगति निराशाजनक देखिएको छ । प्रशासनीक नेतृत्वका रुपमा नगरमा प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । नगरका कर्मचारी र मुख्य नेतृत्वकाबीच आपसी तालमेल,समन्वय र योजना कार्यान्वयनमा समस्या हुँदा पूँजीगत बजेट खर्चमा कमि आएको देखिन्छ ।

चालु आवको फागुनसम्ममा नगरले पूँजीगत तर्फ विनियोजन २९ करोड ३६ लाख ३८ हजार रुपैयाँ बजेटमध्ये ८ करोड ७४ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ ।

चालु आवको दोस्रो चौमासिकसम्म भएका गरेका विकास निर्माण तथा सेवा प्रवाह विषयमा वडा नम्वर ६ को वडा कार्यालयमा भएको सार्वजनीक सुनुवाईमा दोस्रो चौमासिकसम्म कुल बजेटको ४२.२९ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ।

नगरको कुल बजेट ७८ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ । त्यस्तै चालुतर्फ ४६.८९ प्रतिशत बजेट खर्च गरेको छ। चालुतर्फ रहेको ४९ करोड ४९ लाख ३६ हजार रुपैयाँ बजेटमध्ये २३ करोड २० लाख ८९ हजार रुपैयाँ खर्च भएको छ ।

यस बर्ष नगरले ४ करोड २३ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य मध्य दोस्रो चौमासिकसम्म २ करोड ४२ लाख ९९ हजार ४ सय ६३ रुपैयाँ संकलन गरेको छ। राजश्व संकलनमा पनि नगरपालिका कमजोर देखिएको छ । चालु आर्थिक वर्षको अव चार महिना मात्र वाँकी छ । आठ महिनामा बल्ल उक्त राजश्व संकलन गरेको नगरले अव लक्ष्य हासिल गर्न कठिन देखिन्छ ।

फागुनसम्म पूर्वाधारतर्फ २२ प्रतिशत प्रगति छ । पूर्वाधारतर्फ १७ करोड ६८ लाख ८५ हजार रुपैयाँ बजेटमध्यै ३ करोड ८९ लाख ४७ हजार रुपैयाँ बजेट खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । ३सय ४२ योजनामध्ये १२ वटा योजना बोलपत्रबाट निर्माण प्रक्रिया अघि बढाईएको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो । चालु आवमा एकसय १३ योजना सम्झौता भई एकसय १२ वटा योजनाको अन्तिम भुक्तानीको प्रक्रियामा छन भने एक सय ५ वटा योजना सम्झौता हुने प्रक्रियामा रहेको प्रतिवेदन छ।

उक्त सार्वजनिक सुनुवाईमा उपस्थित नगरबासीले योजना कार्यान्वयनमा जनप्रतिनिधि र कर्मचारीले ध्यान नदिएको गुनासो राखेका थिए । नगरबासीले उठाएका जिज्ञाशाको जवाफ बेनी नगरपालिका मेयर सुरत केसी,उपमेयर ज्योती लामिछाने र प्रमुख प्रशासकीय अधिकृत ढकाल, वडानम्वर ६ का वडाअध्यक्ष कृष्णसिङ बानियाँ र उपस्थित जनप्रतिनिधि र कर्मचारीले नगरवासीले उठाएका प्रश्न र गुनासाहरुको जवाफ दिनुभएको थियो ।