मोना बेल्जियमद्धारा विद्यालयलाई डिजिटल सामाग्री सहयोग

विकल्प न्यूज\बेनी
चैत ८ गते ।


बेल्जियममा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले म्याग्दीको दुर्गम गाउँ लुलाङमा अवस्थित एक विद्यालयलाई डिजिटल सामाग्री सहयोग गरेको छ ।

लुलाङको लुलाङ आधारभूत विद्यालयमा ५० हजार बराबरको डिजिटल साउण्ड सिस्टम १ थान र सूचना प्रविधिका लागि आवश्यक उच्च गतिको ईन्टरनेट जडानका लागि १ थान वाइफाइ राउटर सहयोग गरिएको मोना बेल्जियममा अध्यक्ष रकेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

विद्यालयमा हालै सम्पन्न एक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नगेन्द्र ठाकुर र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । मोना बेल्जियमका सक्रिय सदस्य पर्मलाल विक र मोना बेल्जियमको संयुक्त सहकार्यमा उक्त सामाग्री विद्यालयलाई सहयोग गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी (मोना) बेल्जियमले म्याग्दीका एक विरामीको उचारका लागि आर्थिक सहयोग गरेको छ । उच्च रक्तचापका कारण टाउकोको शल्यक्रिया गरेका मंगला गाउँपालिका २ हिदीका बेलबहादुर विकलाई रु १ लाख,२ हजार ९ सय आर्थिक सहयोग उपलव्ध गराएको मोना बेल्जियमले जनाएको छ ।

योगेन्द्र विकको पहलमा मोना बेल्जियमले पठाएको सो रकम मंगला गाउँपालिका २ का वडाअध्यक्ष धनबहादुर खातीले बिरामी बेलबहादुरकी श्रीमती नौलीमाया बिकलाई हस्तान्तरण गर्नुभएको छ ।