ताजा समाचार:
Search

मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी

म्याग्दी, चैत ५ गते । 

 म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानल बिजयी भएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा २१२ जना बिद्यार्थी मतदातामध्ये १४३ जनाले मतदान गरेका थिए । प्रत्यक्षतर्फ सभापतिमा अनेरास्ववियुकी भिममायाँ रोकाले १२७ मत प्राप्त गर्नुभएको छ । सचिवमा अनेरास्ववियुका रबिन शाहीले १३० मत, कोषाध्यक्षमा तारा राना मगरले १२६ मत प्राप्त गर्नुभएको मंगला शिक्षा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका निर्वाचन अधिकृत बलबहादुर कार्कीले बताउनुभयो ।

त्यसैगरी सदस्यहरुमा बिन्दा रोका, इश्वरी फगामी, युमायाँ दर्जी, मेघ घर्तीमगर र सजिना सुवेदी बिजयी हुनुभएको छ । त्यसैगरी समानुपातिकतर्फ अनेरास्ववियुले १३० मत प्राप्त गर्दा नेपाल विद्यार्थी संघले १२ मत पाएको छ । मंगला शिक्षा क्याम्पसमा गठबन्धन गरेर नेबिसंघ र अखिल क्रान्तिकारीले चुनावमा भाग लिएको भए पनि क्रान्तिकारीको समानुपातिकमा शुन्य मत भएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।

समानुपातिकमा १२ मत प्राप्त गरेको नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनमा एउटा स्थान पाउने उहाँले बताउनुभयो । मतदान बिहान ८ बजेर १० मिनेटमा शुरु भएको र ४ बजे सम्म १४३ जनाले मतदान गरेका थिए ।

मंगला शिक्षा क्याम्पसमा प्रत्यक्षतर्फ नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सबै ८ पदमा उम्मेदवारी दर्ता गराएको थियो । त्यस्तै, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सभापति र कोषाध्यक्ष तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सचिव र सदस्य पदमा मात्रै उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कार्कीले बताउनुभयो ।

उहाँका अनुसार प्रत्यक्षतर्फ सबै पद अनेरास्ववियुले हात पारेको भए पनि समानुपातिकमा भने एउटा सीट नेबिसंघले प्राप्त गर्नेभएको छ ।