म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचनको कार्यालयमा तालाबन्दी

विकल्प न्यूज\बेनी
फागुन ३० गते ।


स्ववियु निर्वाचनलाई लिएर नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ । नेत्रबिक्रम चन्द् (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले संगठन दर्ता र भर्नाका लागि तोकीएको समयअवधीप्रति असहमति जनाउँदै तालाबन्दी गरेको हो ।

तालाबन्दीका कारण चैत ५ गते तय भएको स्ववीयु निर्वाचनको कार्यतालिक प्रभावित भएको छ । स्ववीयु निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले संगठन दर्ता र भर्नाका लागि तोकेको समयअवधीको असहमति जनाउदै तालाबन्दी गरेको उक्त संगठनको क्याम्पस कमिटीका संयोजक मनिषा दर्जीले बताउनुभयो ।

‘भर्ना र संगठन दर्ताको प्रक्रियामा हाम्रो असहमित छ,’दजीले भन्नुभयो,‘स्ववियुलाई ठूला विद्यार्थी संगठनहरुले मात्र कब्जा गर्नेगरी ठूलो मात्रामा विद्यार्थीहरु भर्ना गरिएको छ । यसको हामी शसक्त विरोध गर्दछौं ।’ स्ववियु निर्वाचनलाई प्रभावित पार्ने गरी गरिएको भर्ना खारेज हुनुपर्ने उहाँको भनाई छ ।

तालाबन्दी कारण स्ववीयु निर्वाचनको लागि मतदाता नामावली प्रकाशन, उमेद्धारी मनोनयन लगायतका कार्यतालिका प्रभावित भएको निर्वाचन अधिकृत श्रीधर सुवेदीले बताउनुभयो ।

विद्यार्थी संगठनसँग भएको छलफलमा निर्वाचन घोषणापछि भर्ना भएका विद्यार्थीहरुको विषयमा संगठनका प्रतिनिधिहरुको मत बाझिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेलले केही विद्यार्थी संगठनले स्ववीयु चुनाव विथोल्ने प्रयास गरेको आरोप लगाउनुभयो ।

यता नेबिसंघ म्याग्दी क्याम्पस ईकाइ सभापति सुजता खत्रीले हारको मानसिकताले तालाबन्दी गरेको आरोप लगाउनुभयो । क्याम्पसका संस्थापक सदस्य ठाकुरप्रसाद पराजुलीको निधनका कारण कार्यतालिका प्रभावित भएपछि सञ्चालक समितिले केही हेरफेर गरेको सञ्चालक समितिले जनाएको छ ।

म्याग्दी क्याम्पसमा ९ सय जनाको हाराहारीमा स्ववीयु चुनावका लागि मतदाता छन् । स्ववीयु चुनावको मिति नजिकिदै जाँदा विद्यार्थी संगठनहरुले उम्मेदवारी चयन र चुनावीप्रचारप्रसारलाई तिव्रता दिएका छन् ।