ताजा समाचार:
Search

निर्माण व्यवसायी संघको अध्यक्षमा भट्टचन

विकल्प न्यूज/म्याग्दी
फागुन २८ गते ।


निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन निर्वाचित हुनुभएको छ । आज (शनिवार) सदरमुकाम बेनीमा सम्पन्न निर्माण व्यवसायी संघ म्याग्दीको २२औं साधारणसभा तथा ११औं अधिवेशनले भट्टचनको अध्यक्षतामा संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको निवर्तमान अध्यक्षमा नारायण जिसी, प्रथम वरिष्ठ उपाध्यक्षमा प्रदीप सापकोटा, वरिष्ठ उपाध्यक्षमा विपिन खड्का, उपाध्यक्षमा प्रवीण सापकोटा, नरसिङबहादुर खत्री, प्रवीण शाही र कुशल पौडेल निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा दिनेश खत्री, उपमहासचिवमा ईन्द्रबहादुर बानियाँ, सचिवमा भरत पौडेल, कोषाध्यक्षमा कुशल जिसी, सहसचिवमा मनप्रसाद कँडेल र सहकोषाध्यक्षमा श्यामसुन्दर कँडेल निर्वाचिन हुनुभएको छ ।
त्यस्तै संघको कार्यसमिति सदस्यहरुमा लोकबहादुर मल्ल, मोहन कार्की, रामकुमार श्रेष्ठ, दिनेश ढुङ्गाना, नवीन केसी, मोतिलाल पौडेल, कल्पना बरुवाल, जगबहादुर भण्डारी, विजय शेरपुञ्जा र घनश्याम पौडेल निर्वाचित हुनुभएको निर्माण व्यवसायी संघ म्याग्दीले जनाएको छ । यस अघिको कार्यकालमा विभाजित भएर दुईवटा समानान्तर समिति बनाएका निर्माण व्यवसायीहरुले यसपालि एकताको अधिवेशन गरेर सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेका हुन् । अध्यक्षमा निर्वाचित भट्टचन जिल्लाका पुराना निर्माण व्यवसायी हुनुहुन्छ ।

यसअघि संघको साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै निर्माण व्यवसायी संघ म्याग्दीका संस्थापक नेत्रबहादुर महतले पछिल्लो समय निर्माण व्यवसायीहरुलाई हेर्ने नजर सकारात्मक नभएकाले यसलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले अब निर्माण व्यवसायीहरु एकापसमा मिलेर अगाडि बढ्नुपर्ने बताउँदै निर्माण व्यवसायीहरुले गरेको कामप्रति कसैले पनि औंला नउठाउने गरी निर्माणका कामहरु गर्नुपर्नेमा जोड दिनुभयो । निर्माण व्यवसायीहरुले गर्ने काम अत्यन्त जोखिमयुक्त रहेकाले ध्यानपूर्वक गर्नुपर्ने भन्दै संस्थापक महतले निर्माण व्यवसायीले समयमै गुणस्तरीय कामहरु सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष एकेन्द्रबहादुर रावलले द्वन्द्वकालको समयमा पनि आफूले निर्माण व्यवसायी संघको काममा केन्द्रीत भएर लागेको दावी गर्नुभयो । निर्माण व्यवसायीको लाईसेन्स प्राप्त गरेपछि आफू संघमा आबद्ध भएको बताउँदै उहाँले निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्ने बताउनुभयो । देशको विकास निर्माणको जिम्मा निर्माण व्यवसायीको काँधमा भएकाले सबैको मन जित्ने गरी काम गर्नुपर्ने उहाँको भनाइ छ । संघका पूर्व अध्यक्ष कृष्णकुमार शेरचनले निर्माण व्यवसायी संघले निर्माण व्यवसायीहरुको पक्षमा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र म्याग्दीका पुराना निर्माण व्यवसायी गोपाल भट्टचनले देशमा समग्र विकास निर्माणको काम निर्माण व्यवसायीहरुको हातमा रहेकाले विकास निर्माणमा गुणस्तरीयता आवश्यक रहेको बताउनुभयो । उद्घाटनसत्रको समापन गर्दै संघका निवर्तमान अध्यक्ष नारायण जिसीले आफूले विभिन्न समस्या र परिस्थितिका बाबजुद पनि दुईदुई कार्यकाल सफलतापूर्वक नेतृत्व सम्हालेर अहिले हस्तान्तरण गर्न आफू सफल भएको बताउनुभएको थियो ।

कार्यक्रम निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष नारायण जिसीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष विपिन खड्काको स्वागत र सचिव दिनेश खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष भट्टचनले निर्माण व्यवसायी संघमा सबैलाई मिलाएर एकताबद्ध बनाउँदै आफू अगाडि बढ्ने र जिल्लाको विकास निर्माणको कार्यमा तीव्रता, गुणस्तरीयताको साथै समयमै सक्ने गरी संघमार्फत आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।