कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

ठाकुरप्रसाद आचार्य/ म्याग्दी
फागुन २२ गते ।

कतारकी राजकुमारी आश्मा अल्थानीले म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुहुने भएको छ । हिमाल आरोहण गर्न राजकुमारी आरोहण टोलीसहित सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना आइपुग्नुभएको छ । दानाका स्थानीयहरुले राजकुमारी सहितको टोलीलाई बाजागाजा सहित स्वागत गरेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्दछ ।

इलाईट टे«कीङ कम्पनी मार्फत अल्थानीले अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो । आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाउनु भएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएको छ । राजकुमारी दुई दिन दानामै रहने पुर्जाले भन्नुभयो । पुर्जाका अनुसार बन्दोबन्दीका सामग्रीहरु हेलिकप्टर मार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका सहयोगीहरुले तयारी थालिसकेको उहाँले बताउनुभयो ।

यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजंगा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालहरुको आरोहण गरिसक्नु भएको छ । किर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाहरुले स्वागत गरेका छन् । नागरिक अभिनन्दन् र बाजागाजा सहित गाउँ परक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताउनुभयो ।

दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरिएको वडाध्यक्ष पुर्जाले बताउनुभयो । दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभयो ।

ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाई छ । सन १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो । साभारः गोरखापत्र अनलाइन