अन्नपूर्णमा समुदायमा आधारित विपद् प्रतिकार्य तालिम

प्रताप बानियाँ/म्याग्दी
फागुन १९ गते ।


अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्यसम्बन्धी तालिम शुक्रवार सम्पन्न भएको छ ।

गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोग र युकेएडको आर्थिक सहयोगमा विपद्को समयमा आइपर्ने समस्याको सामना गर्नका लागि पूर्वतयारीस्वरुप तालिम सञ्चालन गरिएको हो ।

स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति अर्थात् विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लक्षित गरेर सञ्चालन गरिएको तालिममा २३ जनाले सहभागिता जनाएका थिए । गएको मङ्गलवारदेखि आज शुक्रवारसम्म चारदिन चलेको तालिममा गोर्खा वेलफेयर ट्रष्ट नेपाल र सशस्त्र प्रहरी बल कुरिनटार शिक्षालय चितवनको एपिएफ टिमले सहजीकरण गरेको थियो ।

सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको उक्त तालिममा सिलिण्डर ग्यास पड्किँदा कसरी आगो निभाउने, घाँटीमा हड्डी अड्किएमा गर्नुपर्ने उपचार, बाढीपहिरोको समयमा फसेका मानिसहरुको खोज, उद्धार, राहत एवं पुनसर््थापनालगायत विविध विषयहरुमा सहजीकरण गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । यसैगरी तालिममा विपद् व्यवस्थापन, प्राथमिक उपचार, खोज तथा उद्धार, पूर्व सूचना प्रणाली र क्षतिको मूल्याङ्कनको विषयमा आधारित रहेर सहजीकरण गरिएको थियो ।
तालिम समापनसत्रलाई सम्बोधन गर्दै गोर्खा वेलफेयर ट्रष्ट नेपालका कार्यक्रम निर्देशक दिपककुमार श्रेष्ठले तालिमको अवधिमा सिकाइएका ज्ञान, सिपलाई आगामी दिनमा विपद्को समयमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले कुनै पनि विपद् आउनुपूर्व आवश्यक तयारी राम्रोसँग गरियो भने विपद्बाट हुन सक्ने सम्भावित क्षतिलाई कम गर्न सकिनेमा जोड दिनुभयो । तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले विपद्को समयमा मानवीय हिसाबले पनि उद्धार गर्नैपर्ने भएकाले तालिमबाट आउँदा दिनमा हुने विपद्बाट जोगिन तथा उद्धारमा थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
अन्नपूर्ण–२, भूरुङ–तातोपानीका वडा अध्यक्ष ओमप्रसाद फगामी र नेपाल रेडक्रस सोसाइटी भूरुङ–तातोपानी उपशाखाका उपसभापति चन्द्रकुमारी राम्जालीले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा गोर्खा वेलफेयर ट्रष्टले निर्माण गरेको अन्नपूर्ण गाउँपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता (खासस्वा) योजना) २०२३–२०३३ गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।