मुनामा लोक र शिक्षक सेवा तयारी कक्षा सञ्चालन

विकल्प न्यूज/बेनी
फागुन १७ गते ।


म्याग्दीको धवलागिरी गाउँपालिकाले शैक्षिक बेरोजगारहरुलाई लक्षित गरेर लोक र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।
गाउँपालिकाको केन्द्र मुनामा १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ । गाउँपालिका भित्र बसोबास गर्ने एसईइ उतिर्ण भएका, शिक्षक र लोक सेवा आयोगको परिक्षामा सहभागि योग्य व्यक्तिहरुबाट आवेदन संकलन गरेर तालिममा दिइएको हो ।
सरकारी सेवाप्रति आकर्षण बढाउन र सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक जनशक्ति उत्पादन गर्न तालिमले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भन्नुभयो ।

“दश, १२ कक्षा उतिर्ण हुने वित्तिकै पासपोर्ट काटेर विदेशिने चलनले प्रशासनिक र राजनीतिक क्षेत्रमा हामी पछि परेका हौ,” उहाँले भन्नुभयो “निजीमति, सेना, प्रहरी र शिक्षक पेशामा संलग्नता बढाउन निशूल्क तालिम आयोजना गरेका हौ ।”

सरकारी सेवामा स्थानीय जनशक्ति नहुँदा पालिका र विषयगत शाखामा कर्मचारी तथा शिक्षकको अभाव भएको अध्यक्ष पुनले बताउनुभयो । तयारी कक्षाका लागि सहर बजारमा जान नसक्ने तर क्षमता भएकाहरुका लागि गाउँपालिकाले आयोजना गरेको तालिम उपयोगी बन्ने प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजालले जानकारी दिनुभयो ।

निरन्तरको मेहनत र हार नमान्ने हो भने लोक सेवा र शिक्षक सेवामा सफल भइने अनुभव अधिकृत रिजालले सुनाउनुभयो । तालिममा शिक्षक सेवा र लोक सेवा आयोगको परिक्षालाई केन्द्रित गरेर सैद्धान्तिक विषयमा सहजिकरण गरिने जनाइएको छ ।
गाउँपालिकाको शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदीको सञ्चालन गर्नुभएको कार्यक्रममा स्रोत व्यक्ति गिरिप्रसाद छन्त्यालले स्वागत गर्नुभएको थियो ।