ताजा समाचार:
Search

राष्ट्रपतिको स्वागतका लागि तयार भयो जलजलाको बराहताल (भिडियो सहित )

विकल्प न्यूज/जलजला
फागुन ९ गते ।

भोली बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीको पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणको तयारी पुरा भएको छ । बुधवार विहान ११ बजे राष्ट्रपति भण्डारी जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बरातालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

राष्ट्रपतिको भ्रमणलाई लिएर मंगलबार जिल्ला स्थित सुरक्षा अधिकारी,राष्ट्रपति कार्यालयबाट खटिएको कर्मचारी सहितको टोली,जनप्रतिनिधि र स्थानीयवासी सहितको समन्वय वैठक गरी व्यवस्थापकीय र सुरक्षालाई प्रभावकारी बनाउने छलफल भएको अध्यक्ष आचार्यले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले बुधवार जलजलाको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालाञ्जर हम्पाल क्षेत्रको अवलोकन र वडा नम्बर २ पूर्ण गाउँ स्थित आदि बराह तालमा निर्मित कुल मन्दिरको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिबाट समुन्द्र सतहदेखि तीन हजार मिटर उचाईमा रहेको पौराणिक–धार्मिक रुपले महत्वपूर्ण पर्यटकीय स्थल कालञ्जर हम्पाल(जलजला) क्ष्ोत्रको हेलिकप्टरबाट अवलोकलन गर्ने कार्यक्रम रहेको पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

पर्यटकीय संभावनायुक्त क्षेत्र बराह ताल र हम्पाल कालञ्जर क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा ठूलो टेवा पुग्नुका साथै देश तथा विदेशमा परिचित गराउने र आगमी दिनमा महत्व बढेर जाने अपेक्षा गरिएको पालिका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

बराह तालको बिच भागमा अवस्थित बयसको रूख त्यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जल बराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छन् । मन्दिर पुननिर्माणको मुख्यदाता रविन्द्रजंग लामिछनेले २५ लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ । मन्दिर निर्माण गर्न करिब डेढकरोड रुपियाँ खर्च भएको जनाइएको छ ।

समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरी हिमाल रहेका छन् । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह ताल प्राकृतिक रुपमा सुन्दर छ । यहाँबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ ।

जनैपूर्णिमामा लाग्ने विशेष मेलामा पर्वत सहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट पनि श्रद्धालुभक्तजन आउने स्थानीय युवा नविन जिसीले बताउनुभयो । मागेको बर पूरा हुने विश्वास गर्ने गरिएको बराह क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाइएको जलजला २ का वडाअध्यक्ष प्रकाश जिसीले बताउनुभयो ।