वडा अध्यक्ष बानियाँले प्रदान गर्नुभयो सेवासुविधाको रकम घुम्तीकोषलाई

विकल्प न्यूज/बेनी
माघ १८ गते ।


बेनी नगरपालिका ६ का वडा अध्यक्ष कृष्णशिंह बानियाँले सरकारी सेवा सुविधावापत प्राप्त गरेको रकम विपन्न महिलाहरुले सञ्चालन गरेको घुम्तीकोषलाई सहयोग गर्नुभएको छ ।

वडा अध्यक्ष भएवापत नगरपालिकाबाट प्राप्त गरेको ३० हजार र चन्दा सहयोगबाट संकलन भएको ३० हजार गरी ६० हजार रुपैयाँ खरेनी स्थित दलित वस्तीमा रहेको आमा समुहले सञ्चालन गरेको घुम्तीकोषलाई प्रदान गर्नुभएको हो । गरिब तथा विपन्नहरुलाई सुलभ ब्याजदरमा लगानी गरी महिलाहरुलाई आत्मनिर्भर बनाउन घुम्तीकोष संचालन गरिएको खरेनी आमा समुह घुम्तीकोषकी अध्यक्ष विश्व किसानले बताउनुभयो ।

खरेनीवस्तीमा रहेको २५ जना महिलाहरु समुहमा आवद्ध भएका छन् । समुहमा रहेका महिलाहरुले आयआर्जनमुलक क्षेत्रमा आलोपालो रुपमा कोषको रकम परिचालन गरिने उहाँले बताउनुभयो । गत जेठमा समुह गठन गरेका महिलाहरु सामाजिक कार्यमा समेत सक्रिय भएका छन् । गरिब तथा विपन्न दलित वस्तीका महिलाहरुलाई आत्मनिर्भर बनाउन आफूले सेवासुविधा वापतको रकम घुम्तीकोषलाई सहयोग गरेको वडाअध्यक्ष बानियाँले बताउनुभयो । आगमी दिनमा पनि सेवासुविधाको रकम यस्तै सामाजिक कार्यकालागि सहयोग गर्ने उहाँले बताउनुभयो ।