अन्नपूर्णको खिबाङ सिँचाई योजनामा काम नगर्ने ठेकेदार कालोसूचीमा

विकल्प न्यूज/बेनी
माघ १५ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङ सिँचाई योजना अलपत्र पार्ने एक ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ ।
गाउँपालिकाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाण्डौंले श्री सुकृत निर्माण सेवा घोराही दाङलाई एकवर्ष सम्मका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा राखिएपछि उक्त निर्माण कम्पनीले एकवर्षसम्म कुनै पनि खरिद कारवाहीमा भाग लिन नपाउने सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ ।

योजना सम्झौता गरी कामनै नथालेपछि पालिकाको पूर्वाधार शाखाको सिफारिसमा गाउँ कार्यपालिकाले उक्त निर्माण कम्पनीलाई कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो ।

२०७९ असार ७ गतेसम्मको म्याद भएको योजना निर्माणनै सुरु नगरेका निर्माण कम्पनीको जमानत फिर्ता गरी कालोसूचीमा राखिएको गाउँपालिकाका इन्जिनियर इश्वर भण्डारीले बताउनुभयो । पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले योजनाको काम सुरु नगरेकाले कालोसूचीमा राखि ठेक्का तोडिएको उहाँले बताउनुभयो ।

गत वर्ष फागुन ८ गते दाङको घोराही उपमहानगरपालिका–१६ को सुकृत निर्माण सेवाले ३४ लाख ४६ हजार रुपैयाँमा सो सिँचाइ आयोजनाको ठेक्का सम्झौता गरेको थियो । उक्त योजनाका लागि गण्डकी प्रदेश सरकारले ससर्त शीर्षकमा ५० लाख विनियोजन गरेको थियो ।

प्रतिस्पर्धामार्फत ठेक्का पाएको सो कम्पनीले हालसम्म कुनै पनि काम नगरेको गाउँपालिकाका इञ्जिनियर भण्डारीले बताउनुभयो । निर्माण कम्पनीको जमानत बसेको हिमालयन बैंक लिमिटेडबाट चार लाख ९३ हजार जमानतवापतको रकम गाउँपालिकाको खातामा आइसकेको उहाँले बताउनुभयो । अन्य ११ कम्पनीहरु पनि कालोसूचीमा परेका छन् ।