किसानी माविले जित्यो मालिकाको राष्ट्रिपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी
माघ १५ गते ।


मालिका गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी मावि बिमले जितेको छ । शनिबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण,११ रजत र ५ कास्य पदक हात पार्दै किसानी माविले उपाधि जितेको हो ।

उपविजेता भिम मावि देविस्थानले १० स्वर्ण,२ रजत र ५ कास्य पदक जितेको छ । तेस्रो भएको जनप्रिय माविले ४ स्वर्ण,३ रजत र ६ कास्य पदक हात पारेको छ । प्रथम हुनेले नगद ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो र तेस्रो हुनेलाई क्रमशः६० हजार रुपैयाँ र ४० हजार रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । विजयी विद्यालय र खेलाडीहरुलाई नव नियुक्त गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री रेशम जुग्जाली,गापा अध्यक्ष बेगप्रसाद गर्बुजा लगायतले नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

त्यसैगरी केबी एकेडेमीले ४ स्वर्ण,१ रजत र ६ कास्य,सिद्धार्थ माविले ७ रजत,दरबाङ इङ्लिस् बोर्डिङले १ रजत र १ कास्य, अमरज्योती माविले १ स्वर्ण र १ कास्य ,ओखरबोट माविले ३ रजत र १ कास्य,राष्ट्रिय माविले २ कास्य तथा गौबोम बस्त माविले २ रजत र ३ कास्य पदक जितेका छन् । प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । छात्र र छात्रा भलिबल,कबड्डी र एथलेटिक्स बिधाका ३० वटा इभेन्ट्मा ९० पदकका लागि प्रतिस्पर्धा भएको थियो । यता उपविजेता भिम माविले नतिजा माथि असहमति जनाउँदै विज्ञप्ती प्रकाशित गरेको छ ।