प्रभा मावि नारच्याङलाई तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी
माघ १४ गते ।


अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ ।

शनिबार वडा नम्बर १ दाेबामा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ कास्य पदक हात पार्दै प्रभा मावि नारच्याङ प्रथम हुन सफल भएको हो । त्यसैगरि प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र ६ कास्य पदक सहित शिख मावि दोस्रो र ४ स्वर्ण, ३ रजत र ७ कास्य पदक सहित मुक्तिमार्ग मावि घार तेस्रो हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथमलाई ५० हजार, द्धितीयलाई ३० हजार रुपैयाँ र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई २० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको गाउँपालिकाका प्राविधि सहायक मेखबहादुर घर्तीले जानकारी दिनुभयो ।

चार दिनसम्म संचालन भएको खेलकुद प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा विजयी विद्यालयलाई प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल, सामाजिक विकास संयोजक ओम फगामी लगायतको उपस्थितमा पुरस्कार वितरण गरिएको थियो ।