अयोध्या लैजाने शिलाको भव्य कार्यक्रमकाबीच हस्तान्तरण (भिडियो\फोटोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी
माघ १२ गते ।

भारतको अयोध्यामा निर्माणधिन राममन्दिरमा राखिने मुर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित विहिवार हस्तान्तरण गरिएको छ ।

वसन्तपञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभायात्रा सहित हस्तान्तरण गरिएको हो । विहिवार विहान ८ बजेको साइतमा बेनी नगरपालिका ९ स्थित गलेश्वरधाम मन्दिरमा पुजापाठ,भजनकृतन र विभिन्न जातजातिका झाँकी सहित दुई थान शिला जनकपुरधाम स्थित जानकी मन्दिरका लागि पठाइएको हो । दुई हप्ता अघि कालिगण्डकी नदी किनारमा दुई थान शिलाको पहिचान गरिएको थियो । १६ र २६ मेट्रिक टन तौल भएका राम र सीता नामाकरण गरिएको दुईथान शिलालाई दुई छुटाछुटै ट्रकमा राखिएको छ ।

       
शिलालाई पोखरा,देवघाट,जनकपुरधाम हुँदै अयोध्या पठाइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । कालिगण्डकीको शिला अयोध्यामा लगेर राम र सीताको मूर्ति बनाउनुले कालिगण्डकी र गलेश्वर क्षेत्रको धार्मिक पर्यटनलाई समेत ठूलो टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
शिला लिन अयोध्याको राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज सहितको टोली आएको थियो । कालीगण्डकीको शिला अयोध्या लगेर भगवान् श्रीरामको मूर्ति बनाउँदा धार्मिक र सांस्कृति महोत्व वढ्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।