बेनी–गलेश्वर सडक कालोपत्रे योजना सुरु

विकल्प न्यूज/बेनी
माघ ९ गते ।


बेनी – गलेश्वर सडक कालोपत्रे योजना अघि बढेको छ । सडकको ट्रयाक खुलेको झन्डै दुईदशक पछि सडक स्तरोन्नति थालिएको हो । बेनी देखि छोटो दुरीको यो सडक स्तरोन्नतिका लागि प्राथमिकतामा परेको थिएन । बेनी–जोमसोम कोरला सडक आयोजनामा समावेश गरेसँगै सडक स्तरोन्नति योजना अगाडी बढाइएको हो । बेनी देखि गलेश्वर सम्मको छोटो दुरीको सडक स्तरोन्नति नहुँदा सर्वसाधरणहरुले सास्ती भोग्दै आएका छन् । जिल्लाका सरोकारवाला निकायहरुको दबावपछि यो खण्डलाई बेनी–जोमसोम कोरला सडक आयोजना अन्तर्गत समावेश गरेर निर्माण थालिएको हो ।

बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्का मार्फत स्तरोन्नतिका लागि जय धन्नजय÷मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लि जेभीसँग दुईवर्षमा सडक स्तरोन्नति सहित कालोपत्रे गर्नेगरी १२ करोड २५ लाख ९४ हजार चारसय ३६ रुपियाँमा ठेक्का सम्झौता गरेको छ । दुई किलोमिटर एकसय दुई मिटर सडक स्तरोन्नति गर्ने योजनाको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभयो ।


प्रमुख केसीले निर्माण व्यवसायीलाई तोकिएको समयममा योजना सम्पन्न गर्न निर्देशन दिनुभयो । प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाम र मुक्तिनाथ जाने मुख्य सडक स्तरोन्नति नहुँदा सर्वसाधरणले सास्ती भोग्नुपरेको बताउँदै उहाँले समयमै गुणस्तरीय काम सहित योजना सम्पन्न गर्न निर्माण कम्पनीलाई अनुरोध गर्नुभयो । निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्का सम्झौता मिति भित्रै योजना सम्पन्न गर्न मजदुर, दूईवटा डोजर लगायतका उपकरण सहित योजनास्थलमा परिचालन भएको बताउनुभयो ।

साघुरो सडकलाई आठ मिटरको फराकिलो बनाउने,कल्भट निर्माण,कुनै स्थानमा आरसीसी ढलान सहित कालोपत्रे गर्ने योजना रहेको बेनी – जोमसोम –कोरला सडक आयोजनाका प्रमुख जगतप्रजापतिले बताउनुभयो ।

मुक्तिनाथ प्रवेशद्धारका रुपमा रहेको यो सडक खण्डलाई समयमै सम्पन्न गर्न आयोजनाले नियमित रुपमा अनुगमन,निरिक्षण र समन्वय गर्नेे कार्यलाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो । सडक योजना सम्पन्न भएपछि मुस्ताङ जाने पर्यटकका साथै रघुगंगा र अन्नपूर्णगाउँपालिका सर्वसाधरणहरुलाई आवतजावत गर्न सहज विश्वास गरिएको छ ।