सडक दौडमा पुरुषमा नविन र महिला तर्फ सविना पहिलो

विकल्प न्यूज/बेनी
माघ ६ गते ।

जिल्ला खेलकुदा विकास समिति म्याग्दीको आयोजना र खेलकुद परिषद गण्डकीको समन्वयमा शुक्रबार पुरुष तर्फ ८ र महिला तर्फ ६ किलोमिटर सडक दौड प्रतियोगिता सम्पन्न भएको छ ।

पुरुष तर्फ बेनी नगरपालिका ५ पुलाका नविन कार्की प्रथम हुनुभयो । कार्कीले ८ किलोमिटर दुरी २३ मिनेट ५३ सकेण्डमा पार गरि प्रथम हुनुभएको हो ।

धवलागिरि गाउँपालिकाका विराज परियारले सोही दुरी २४ मिनेट १५ सेकेन्डमा पुरा गरी दोस्रो हुनुभयो भने २५ मिनेट तिन सेकेन्डमा सोही दुरी पारगरी मालिका गापा ६ का अर्जुन विकले तेस्रो स्थान हासिल गर्नुभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।
यसैगरी महिला तर्फको रघुगंगा गापा, ३ पिप्लेकी सविना विकले १९ मिनेट ४५ सेकेण्डमा ६ किमी दुरी पार गरी महिला तर्फको दौडमा पहिलो हुनुभयो । तेज धाविका विक रघुगंगा माध्यामिक विद्यालय पिप्लेमा ८ कक्षामा अध्ययनरत हुनुहुन्छ । मंगला गापा, ५ अर्मन पोककी रिक्जना माझीले सोही दुरी २० मिनेट १३ सेकेण्डमा पार गरी दोस्रो स्थान हासिल गर्नुभयो भने धवलागिरि गाउँपालिका ७ की मनिषा खत्रीले सोही दुरी २२ मिनेट ३९ सेकेन्डमा पारीगरी तेस्रो स्थान हासिल गर्नुभयो ।

दौड प्रतियोगितामा पुरुष तर्फ २३ जना र महिला तर्फ ७ जना धाविकाहरु सहभागी भएका थिए । प्रतियोगितमा पुरुष तर्फका प्रथम,द्धितिय र तितृय हुनेहरुलाई क्रमशः १० हजार,८ हजार र ५ हजार नगद सहित प्रमाणपत्र र महिला तर्फ प्रथम,द्धितिय र तृतिय हुनेहरुलाई क्रमशः ५ हजार,३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजयी हुनेहरुलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी,प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसी लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।