ताजा समाचार:
Search

महिला भलिबलको उपाधि अन्नपूर्णले जित्यो

ठाकुरप्रसाद आचार्य/म्याग्दी
माघ ६ गते ।

म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरि गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो ।

प्रतियोगितामा धवलागिरि गाउँपालिकालार्ई २२–२५, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिका प्रथम हुन सफल भएको जिल्ला भलिबल संघ म्याग्दी अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ५५ हजार पाँच सय ५५ रुपियाँ र दोस्रो हुनेले ३३ हजार तीनसय ३३ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, व्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।