पाहुनाको स्वागतका लागि तयार भयो बेनी

विकल्प न्यूज/बेनी
पुस २७ गते ।

भोली पुस २८ गते देखि सुरु हुने सातौं म्याग्दी महोत्सवको तयारी अन्तिमचरणमा पुगेको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले बेनीमा आयोजना गर्ने सातौं महोत्सव माघ ७ गते सम्म सञ्चालन हुने छ । संघले प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागेको हो ।

महोत्सवमा पाहुनालाई स्वागत गर्न बेनी बजारवासीहरु जुटेका छन् । बजारलाई दुलही जस्तै गरी सिंगारेका छन् । तुल,व्यानर,स्वागत द्धारले बजारलाई झकीझकाउ बनाएका छन् । बजार सरसफाई गरिएको छ ।

बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धन र सम्भावनाहरुको उजागरमा महोत्सवको आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । महोत्सवको भोली राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महोत्सवको उद्घाटन पूर्व विभिन्न जातजातिको झाँकी,भुषभूषा सहित बजारमा ¥याली निकालिने आयोजकले जनाएका छन् ।

महोत्सवले जिल्लामा रहेको सम्भावनाहरुको उजागर गर्ने र यहाँका उत्पादनहरुको बजारीकरण र प्रचार प्रसारमा समेत सघाउ पुग्ने संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार,महोत्सवको अवसरमा म्याग्दीका पर्यटकीय स्थलहरुमा हेलिकप्टर मार्फत दृष्य अवलोकनका लागि हेली सयर र कालीगण्डकी नदीमा जलयात्राको लागि ¥याफ्टिंगसमेत सञ्चालन गरिने भएको छ ।

महोत्सवमा खुला लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी आइडलको रुपमा लोकनृत्य प्रतियोगिता, जिल्ला स्तरीय अन्तरपालिका महिला र पुरुष भलिबल लगायतका प्रतियोगिताहरु समेत सञ्चालन हुने भएका छन् । महोत्सवमा म्याग्दीका उत्पादन र पहिचान झल्कने सामाग्रीहरुको स्टलहरु समेत राखिनेछन् ।

जिल्लामा रहेका जातजातिहरुको पहिचान झल्कने झाँकि पदर्शन सहित पुख्र्याली प्रतियोगिता समेत हुने महोत्सवमा बेनीको पुरानो नाच हनुमान नाच समेत देखाउने तयारी गरिएको संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय र स्थानीय कलाकारहरुबाट साँगेतिक प्रस्तुती रहने महोत्सवलाई संगीतमय बनाइने भएको छ ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा एक करोड २५ लाख आम्दानी र एक करोड खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा २५८ वटा व्यवसायिक स्टल राखिने भएको छ । स्थानीय उत्पादनलाई विक्रि र प्रचारप्रसार गर्नका लागि निशूल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा करिव डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक र करिव १० करोड बराबरको ब्यावसायिक आर्थिक कारोबार हुने संघले बताएको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०६० सालदेखि संघले महोत्सव लगाउन सुरु गरेको थियो ।