ताजा समाचार:
Search

सिंगाका किसानले फलाए एककरोडका सुन्तला

ठाकुरप्रसाद आचार्य/म्याग्दी
पुस २० गते ।

म्याग्दीको बेनी नगरपालिका ४ बास्कुनाकी देवी क्षेत्रीको सुन्तला बगैँचा गत असोजको पहिलो हप्तामानै बिक्री भयो । बास्कुनाकै दिर्घबहादुर खत्रीको बगैँचा पनि असोजमै विक्री भयो । असोजमा पेश्कीवापतको रकम बुझाएका पोखरा,काठमाण्डौं,चितवनका सुन्तला व्यापारीहरु यतिखेर वाँकी पैसा बुझाएर सुन्तला टिप्न आएका छन् । बेनी नगरपालिका ४ सिंगाका किसानहरुले यो वर्ष मात्र करिब एककरोड रुपियाँ बराबर सुन्तला बेचेर गाउँमा भित्राएका छन् ।

स्वादिला र रसिला सुन्तला हुने सिंगाको बास्कुना,सुर्केमेला र थामडाँडाका बगैँचामा यतिखेर सुन्तला पाकेर पहेँलपुर भएका छन् । लटरम्म फलेका सुन्तलाका बोटले बगान रहरलाग्दो देखिएको छ । व्यापारीहरु सुन्तला लैजान गाउँ पसेका छन् । किसानहरुलाई सुन्तला टिप्न भ्याइनभ्याई छ । अघिल्लो वर्ष भन्दा यसवर्ष सुन्तला उत्पादन राम्रो भएकाले किसानहरु उत्साहित छन् ।

बास्कुनाकी गौमती खत्रीले यसबर्ष साढे चार लाख रुपियाँको सुन्तला बिक्री गरेको सुनाउनुभयो । अघिल्लो बर्ष २ लाख ५५ हजार रुपियाँको सुन्तला बिक्री गर्नुभएकी खत्रीले यसबर्ष उत्पादन बढेपछि दोब्बर आम्दानी भएको उहाँको भनाई छ । खत्रीको बगानका पाँच सयभन्दा बढी बोटमा फल लागेकाले यसबर्ष उत्साहित हुनुहुन्छ । गाउँमा आएका ब्यापारीहरुले सुन्तला टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने आवश्यक सवारीसाधन समेत ल्याउन थालेपछि अहिले चहलपहल भएको छ ।

सुन्तला विक्रीबाट यसवर्ष १० लाख देखि १२ लाख रुपियाँ आम्दानी हुने कृषक दिर्घबहादुर खत्रीले बताउनुभयो । उहाँको बगैँचामा करिब ५ सय सुन्तलाका बोट रहेका छन् । खत्रीले विगत १० वर्ष देखि सुन्तला खेती गर्दै आउनुभएको छ । गत असोजमा पोखरा,काठमाण्डौ र चितवनका व्यापारीहरु आएर बगैँचानै खरिद गरेर पेश्की रकम दिएको कृषक देवी क्षेत्रले बताउनुभयो । उहाँका अनुसार पेश्की छाडेर गएका व्यापारीहरु सुन्तला टिप्न आएका छन् । गत वर्ष भन्दा यसपाली सुन्तलाको बोटमा राम्रो फल लागेको छ क्षेत्रीले भन्नुभयो ‘व्यापारीले असोजमै आएर ६० हजार पेश्की दिएका छन् । हाम्रो बगैँचामा करिब ८ सय सुन्तलाको बोट छन् यसवर्ष ८ लाख रुपियाँ बराबरका सुन्तला विक्री भयो ।’

अन्नवाली हटाएर सवै २० रोपनी जग्गा विगत १० वर्ष देखि सुन्तला खेती गरेको देवीले बताउनुभयो । धान,कोदो र मकै भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुनथालेपछि अन्नवाली हटाएर सवै जग्गामा सुन्तलाको बोट रोपेको उहाँले बताउनुभयो । अर्की किसान तिलकुमार गुरुङले पनि यसवर्ष करिब ८ लाख रुपियाँ बराबरका सुन्तला विक्री भएको बताउनुभयो । हाम्रो बगैँचा व्यापारीले खरिद गरिसकेका छन् गुरुङले भन्नुभयो ‘उत्पादन भएका सुन्तला विक्री गर्न कुनै समस्या छैन । बजारमा आफै लगेर विक्री गर्नुभन्दा एकमुष्ट रुपमा व्यापारीलाई दिँदा नै सहज भएको छ ।’


उहाँका अनुसार सिंगा क्षेत्रमा व्यावसायीक सुन्तला खेती गरेर वार्षिक रुपमा ५ देखि १२ लाख रुपियाँसम्म आम्दानी लिने कृषकहरु छन् । १० वर्ष देखि यता व्यापारीहरु गाउँ आएर सुन्तला खरिद गरेर लैजान थालेपछि किसानहरु उत्साहित छन् । यसपटक सुन्तलाले दाना राम्रो लागेको र ब्यापारीको समेत रोजाईमा परेपछि बेनपा वडा नं ४ अन्तरगत पर्ने सुर्केमेला, बास्कुना र थामडाँडाबाट मात्रै एक करोड रुपियाँ बराबरका सुन्तला विक्री भएको वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।

‘सुन्तला खेतीबबाट किसानहरुले राम्रो आम्दानी लिनुभएको छ,सुन्तला खेतीलाई थप प्रवद्र्धन गर्ने र युवालाई आकर्षित गर्न अर्को बर्ष सुन्तला महोत्सव लगाउने योजना बनाएका छौं,’ वडा अध्यक्ष खड्काले भन्नुभयो । म्याग्दीको भकिम्ली,बरंजा,हिस्तान,घार,राँखु,दाना,विम लगायतका गाउँहरु सुन्तला उत्पादन पकेट क्षेत्र हुन ।