ताजा समाचार:
Search

साङगखोला माथि बन्यो झोलुङ्गे पुल

विकल्प न्यूज\बेनी
पुस १५ गते ।

म्याग्दीको मालिका गाउँपालिका–५,स्थित उदिनखोला र ओखरबोट जोड्ने नवनिर्मित देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल उद्घाटन गरिएको छ ।
साङगखोला माथि निर्माण गरिएको उक्त पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र स्थानीय जेष्ठ नागरिक मनभक्त सिउंथानीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त पुलको लम्बाई एक सय मिटर लामो रहेको छ ।

पुल निर्माण भएपछि स्थानीयलाई आवजावत र सामान ढुवानी गर्न सहज भएको छ । यसअघि बर्षातको समयमा आवतजावत गर्न समस्या हुने गरेको थियो । गत बर्ष माघ महिनादेखि पुल निर्माण सुरु भएको थियो ।

पुल निर्माण उपभोक्ता समिति अध्यक्ष शङकर फगामीका अनुसार,५१ लाख १८ हजार ७१५ रुपैयाँ लागतमा उक्त पुल निर्माण गरिएको हो।मालिका गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम स्वापको आर्थिक सहयोग ,टीबिएसयु पोखरा,पिटीएपी पोखरा तथा मिलन म्याग्दीको प्राविधिक र सामाजिक सहयोगमा पुल निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष फगामीले बताउनुभयो ।

पुल निर्माण गर्दा स्थानीयबासीले दुई प्रतिशत श्रमदान गरेका छन् । कार्यक्रममा अध्यक्ष गर्बुजाले पुल निर्माण कार्यमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्नुका साथै सबै एकजुट भएमा विकास तीव्र र दिगो हुने पनि बताउनुभयो ।

उहाँले वडा नम्बर ५ र धवलागिरी गाउँपालिका–७ ,जोड्ने लामो झोलुङ्गे पुल निर्माणको लागि प्रक्रिया थालिएको बताउनुभयो ।उहाँले गाउँपालिकाले शिक्षा ,स्वास्थ्य ,कृषी लगायत क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिलमाया विटालुले पुल निर्माण भएपछि स्थानीयबासीलाई थप सहज भएको बताउनुभयो । उहाँका अनुसार मालिका गाउँपालिकाका विभिन्न ठाउँमा पाँच वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेका छन् ।

कार्यक्रममा पिटिएपीका प्राविधिक अधिकृत दयाराम शाह लगायतले बोल्नुभएको थियो । उपभोक्ता समितिका सचिव भिमप्रसाद सिंथानीले संचालन गर्नुभएको कार्यक्रममा स्थानीय विनोद फगामीले स्वागत मन्तव्य राख्नुभएको थियो ।