आधारभूत सिकाइ, उपेक्षा कहिलेसम्म ?

देवीप्रसाद शर्मा /विकल्प न्यूज
१. विषय प्रवेश ः 


उखानले भन्छ— “जग बलियो भए घर पनि बलियो हुन्छ ।” यो उखानको सामान्यीकरण हरेक क्षेत्रमा गर्न सकिन्छ । जमिन राम्रो भए बाली सप्रन्छ भनेझैँ । सामान्य आर्थिक स्रोत हुनेले थप आर्थिक उन्नति गर्न सक्छ भनेझैँ । नेतृत्वको बलियो आधार सामाजिक सम्बन्ध हुन सक्छ । लेखन सीप राम्रो हुने पत्रकार र लेखक बन्न सक्छ । स्वर मीठो भएको व्यक्ति गायक बन्न सक्छ । आदि आदि । जसरी भने पनि सारमा कुरा यही हो । आधार बलियो भयो भने त्योभन्दा माथि अभ्यास र तालिम मिल्दा सबै बलियो हुन्छ । राम्रो हुन्छ ।

माथिको उखानलाई सिकाइसँग जोड्ने हो भने अक्षरको राम्रो ज्ञानले शब्द बनाउने आधार दिन्छ । शब्दभण्डार राम्रो भए वाक्य निर्माणमा बल पुग्छ । राम्रो शाब्दिक ज्ञानले वाक्य संरचना हुँदै अनुच्छेद लेखन राम्रो हुन्छ । तर्क शक्ति र चिन्तन शक्ति अक्षरको राम्रो ज्ञानबाट प्राप्त हुन्छ । यस अर्थमा भाषाको विकासको लागि बलियो आधार भनेको अक्षरको सिकाइ राम्रो हुनु हो । विद्वानहरू भाषालाई त सिकाइको जननी पनि भन्ने गर्दछन् । त्यस्तै जोड, घटाउ, गुणन र भागको सिकाइको लागि अङ्क र सङ्ख्याको ज्ञान राम्रो हुनु जरुरी छ । जोड, घटाउ, गुणन र भागको आधारभूत क्रियाको सिकाइले सरलीकरणलाई सामान्य बनाइदिन्छ । सङ्ख्या, भिन्न, दशमलव, नाप, वीजगणितीय पदहरू, ज्यामितीय आधारभूत मान्यता, तथ्य र सिद्धान्तको अवधारणात्मक सिकाइले गणितका जटिल समस्या समाधानमा बलियो आधार प्रदान गर्दछ ।

यसरी मूर्तामूर्त अङ्कपदहरूको राम्रो ज्ञानले गणितसँग खेल्न सक्ने सीपको विकास गर्ने आधार दिन्छ । उदाहरण नै हेरौँ न, कक्षा १० को मस (HCF) र लस(LCM) को सिकाइका लागि खण्डीकरणको ज्ञान हुनु आवश्यक छ । खण्डीकरणका लागि विजगणितीय पदहरूका आधारभूत क्रियाहरू (जोड, घटाउ, गुणन र भाग) को अवधारणात्मक ज्ञान हुनैप¥यो ।

फेरि अङ्कगणितलाई नमिसाई बिजगणित चल्दैन । अङ्कगणितको मस र लस को अवधारणा राम्रो भएको विद्यार्थीले मात्र कक्षा दसको विजगणिको मस र लस बुझ्न सक्छ । अङ्कगणितको मस र लस सिक्न फेरि सङ्ख्याहरूको खण्डीकरण आवश्यक पर्छ । खण्डीकरणका लागि गुणनको ज्ञान नभई हुन्न । गुणनका लागि जोडको कन्सेप्ट हुनुप¥यो. । आखिरमाउही अङ्क र सङ्ख्यासँग नै नखेली नहुने रहेछ छ त । अङ्क र सङ्ख्या सिक्ने भनेको त कक्षा १ देखि नै हो नि ? पाठ्यक्रमले त त्यही भन्छ ।

त्यस्तै गणितका शाब्दिक समस्याहरूको बुझाइमा समस्या नै छ । यसो हुनुमा भाषाको सिकाइ कारक छ । शाब्दिक समस्यालाई गणितीय भाषामा परिवर्तन गर्न त पहिला समस्या बुझ्नुप¥यो । वाक्य संरचना बुझ्नुप¥यो । शाब्दिक ज्ञान हुनु¥यो । यसरी हेर्दा त अङ्क र अक्षरका क्रियाबाट हुने बलियो सिकाइले नै माथिल्लो सिकाइलाई प्रभाव पार्दो रहेछ । आखिर विद्यार्थीले आफ्नो अनुभव, व्यवहारजन्य अवस्था र भोगाइबाट सिकेका ज्ञान तथा सीपको अभिव्यक्त गर्दा समेत अङ्क र अक्षरको राम्रो ज्ञान हुनु जरुरी हुन्छ । हुँदैन र ?

२. विषय सन्दर्भ ः
यस आलेखमा विद्यालय तहको आधारभूत सिकाइलाई जोड्न खोजिएको हो । दस कक्षा तथा माध्यमिक तह उत्तीर्ण मानिएका अधिकाङ्श विद्यार्थीहरूले दुई अङ्कका सङ्ख्याको जोड, घटाउ, गुणन र भाग गर्दा क्यालकुलेटरको प्रयोग गर्नु, घरायसी सामान्य हरहिसाब गर्न नसक्नु, कसैलाई सम्बोधन गरी सामान्य निवेदन समेत लेख्न नसक्नु, नापको प्रयोग राम्रोसँग गर्न नजान्नु,आदि अहिले देखिएका वास्तविक व्यावहारिक समस्या हुन् । यी त भए तह पार गरेपछिका समस्या । माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई कुनै विषयमा एक अनुच्छेद नेहरी लेख भन्यो भने नसक्ने अवस्था छ । लेखे पनि बेढङ्गसित लेखिदिन्छन् । गणितका आधारभूत तथ्य, धारणा र क्रियाहरूको ज्ञानमा कमी हुँदा गणित विषय शिक्षण गर्र्नै कठिन छ । वास्तवमा यो विद्यालयीय शिक्षाको डरलाग्दो रूप हो । यसका कारण के हुन् ? समस्या कहाँनेर छ ? समाधान कसरी सम्भव छ ? आदि इत्यादि प्रश्नको उत्तर यस आलेखमा खोजिएको छ ।

३. समस्याको चुरो ः

हामी भुईँ नहेरी आकाशतिर हेर्दै हावामा दौडने कोसिस ग¥यौँ । हामी भन्नाले शिक्षकहरू । अभिभावकहरू । प्रअहरू । अनुगमनकर्ताहरू । नियामक निकायहरू । स्थानीय सरकारहरू । सम्बन्धित सबैसबै । सम्बन्धित कक्षाका शिक्षकहरूले ‘हा ! माथि गएपछि जेसुकै गर्छन् ।’ भनेर राम्रो सिकाइ सहजीकरणमा अल्छी ग¥यौँ । माथिल्ला कक्षामा अध्यापन गर्नेले तल्लो तहकाले केही सिकाएनन् भनेर उनीहरूलाई दोषी देखायौँ ।

यस्तै आरोप प्रत्यारोपका बीच जुन कक्षामा जुन सिकाइ उपलब्धि हासिल हुनुपर्ने हो त्यो नभई फटाफट विद्यार्थी कक्षा चढिरहे । अभिभावकहरूले एकैचोटि कक्षा ९÷१० मा ट्युसन, कोचिङ् पढाइदिने सबै सिकाइ एकैचोटि हुन्छ भन्ने मानसिकता बोक्यौँ । प्रअहरूले तल्ला कक्षाको सिकाइ कसरी बलियो बनाउन सकिन्छ भनेर चिन्तन गरेनौँ । कुनै योजना बनाएनौँ । बरू दस कक्षामा टु्युसन, कोचिङ पढाएर र विद्यार्थीलाई होस्टेल राखेर रटाउने र एसइइमा मात्र कसरी राम्रो जिपिए आउँछ भनेर साम–दाम गर्ने बुद्धि निकाल्यौँ । तर पनि सकेनौँ ।

सायद गुणस्तर भनेको त्यही होला, अङ्क त मेसो परे मात्र ल्याउने हो । खास त गुदी नै हुनुपर्छ होला । अनुगमनकर्ताहरूले विद्यालयको भौतिक पाटो र विद्यार्थी सङ्ख्या मात्र खोतल्यौँ । एसइइमा कुन विद्यालयले कुन विषयमा कति औसत जिपिए प्राप्त गरे भनेर तथ्याङ्कमुखी मात्र बन्यौँ । सोही आधारमा शिक्षक र विद्यालयको वर्गीकरण गर्न थाल्यौँ ।प्रारम्भिक तहमा सिकाइ कसरी हुनुपर्ने थियो र कसरी भएको छ तुलनात्मक अध्ययन गर्ने चेष्टा गरेनौँ । नियामक निकायले नियममा मात्र विद्यालय शिक्षाको कसरी जाँच्न खोज्यौँ ।

स्थानीय सरकार, जसले विद्यालय शिक्षाको जिम्मेवारी पाएको छ, झन् गैरजिम्मेवार देखियो । सबै शिक्षकले गर्ने त हो भनेर पन्छिने काम ग¥यो । शिक्षकलाई गाली मात्र गर्न तम्सियो । आठ कक्षाको उपलब्धि परीक्षालाई व्यवस्थित गर्न सकेन । न आपूmले ग¥यो न विद्यालयलाई जसको जति सिकाइ भएको छ त्यति मात्र उपलब्धि देखाउन नियमन ग¥यो । फलस्वरूप ३ अङ्क आउनेलाई पछाडि ५ थपेर विद्यालयले पठाएको नतिजालाई आँखा चिम्लेर सहीछाप ठोकिदियो र वैधानिक बनाइदियो । अनि त एसइइ र कक्षा १२ को परीक्षाको नतिजा आउँदा विद्यालयहरूको हविगत देखियो ।

कक्षा एकदेखि सातसम्म कसरी सिकाइ भइरहेको छ भनेर स्थानीय सरकारले पनि सुक्ष्म अध्ययन गरेन ।अर्थात् थाहा पाएर पनि नपाएजस्तो ग¥यो? तल्ला कक्षाको सिकाइलाई बलियो बनाउन कुनै योजना ल्याएन । शिक्षक व्यवस्थापनमा ध्यान दिएन । आधारभूत तहमा अध्यापनरत शिक्षकहरूको पेसागत विकासमा वास्ता गरेन । ठूला ठूला भौतिक पूर्वाधारमा मात्र ध्यान दियो । शिक्षा मन्त्रालय र मानवस्रोत विकास केन्द्रले के भन्छन्, के दिन्छन् भनेर माथि मात्रै हेरिरह्यो । आधारभूत शिक्षाको सुधारमा परिवर्तनको सङ्केत देखाएन । अनि एसइइको नतिजा आउँदा दस कक्षा अध्यापन गर्ने शिक्षकहरूलाई मात्र दोषी देखिरह्यो । यसरी हेर्दा विद्यालय तहको आधारभूत सिकाइ सधैँभरि उपेक्षामा रह्यो र त्यसको दीर्घकालीन असर माथिल्ला कक्षाहरूमा पर्न गयो ।

४. उपाय के त ?
चाहे त आफ्नो भागको काम शिक्षकले गर्न सक्छन् । आफ्नो भागको काम गरिदिए पनि सिकाइमा धेरै सुधार हुन्छ । नजाने सिक्ने अनि सिकाउने । सूचना छन् । प्रविधि छ । जानकारहरू छन् । विद्यालयमै छन् ।गाउँ समाजमै छन् । वरिपरि नै छन् । किन सकिन्न ? जान्नेलाई सोधे सानो भइएला र ? सिकाइ त जीवनपर्यन्त हुन्छ नि । अल्छीपनले गाँज्यो ? इच्छाशक्ति त हुनैपर्छ नि । शिक्षकको इच्छाशक्ति मार्ने तत्वहरूको कमी त छैन । तैपनि गर्नुप¥यो । माथिकाले जे गरे नि गर्छन् भन्नुभएन त्यत्ति हो ।

प्रअले चाहे अझ धेरै गर्न सक्छन् । कसरी ?आधारभूत कक्षाको सिकाइ क्रियाकलापमाथि प्रत्यक्ष निगरानी गरेर । आधारभूत सिकाइमा टेवा पुग्ने शैक्षणिक योजना बनाएर । शिक्षकहरूलाई प्रोत्साहन गरेर । कुशल प्रशासकीय भूमिका निभाएर । शिक्षक शिक्षकबीच समन्वय अनि आपसी सद्भावको वातावरण बनाइदिएर । विव्यसले गर्न सक्छ— प्रअको योजना र राम्रो कामलाई साथ दिएर । अल्छी प्रअलाई नियन्त्रण गरेर । कुशल व्यवस्थापकीय भूमिका निभाएर ।अभिभावकहरूले पनि गर्न सक्छन्— आफ्ना छोराछोरीले कति अङ्क वा जिपिए ल्याए भनेर होइन कि कति सिके भन्नेतिर ध्यान दिएर । विद्यालयका विषय शिक्षकसँग समन्वय गरेर । उनीहरूलाई झक्झक्याएर । आफ्ना नानीबाबुलाई अनुशासन र संस्कारको पाठ सिकाएर ।

अनुमगनकर्ताले गर्न सक्छन्– नियमित कक्षाकोठाको अनुमगन र सिकाइका तौरतरिकाबारे कार्यशाला तथा गोष्ठी गरेर । शिक्षक र प्रअलाई पृष्ठपोषण गरेर । शिक्षकको साथी बनेर । नियमनकर्ताले गर्न सक्छन्– किन पाठ्यक्रमले तोकेका सिकाइ उपलब्धि हासिल नगरी माथिल्लो कक्षा चढाइयो भनी प्रश्न गरेर । त्यस खालको प्रथालाई व्यवहारमै हटाउन पहल गरेर । माथिका यी काम कसैले गरेनन् भने कसले गर्ने त ? कसरी गर्ने ? तर विश्वास गर्ने ठाउँ छ, आधार छ । विश्वास गर्ने भनेको स्थानीय सरकारलाई नै हो । किनकि स्थानीय सरकार भनेको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारप्राप्त निकाय हो । स्थानीय तहको माध्यमिक शिक्षाको व्यवस्थापकीय अधिकारको केन्द्र हो ।आफ्नो अधिकार प्रयोग गरेर स्थानीय तहले नै माथिका सबै कुराको व्यवस्थापन गरी अरू पनिधेरै काम गर्न सक्छन् ।

जस्तै ः–

(क) विषय प्रवेशमै भनियो, आधारभूत तहको भाषा र गणितको सिकाइ कमजोर रह्यो । भाषा र गणितको कमजोर सिकाइका कारण तहगत गुणस्तर देखिएन । यसको कारण अरू छैन । या त प्राथमिक तहमा भाषा र गणितकै शिक्षकमै कमजोरी रह्यो, या शिक्षक व्यवस्थापनमा । त्यसैले स्थानीय सरकारले शैक्षिक सत्र शुरु हुनुभन्दा पहिले कम्तीमा एक महिना भाषा र गणितका शिक्षकहरूलाई सामग्री निर्माण र शिक्षण सिकाइका तौरतरिका, विद्यार्थी मूल्याङ्कन, सूचना प्रविधि आदि सम्बन्धमा पुनर्ताजगी तालिमको योजना बनाउन सक्छ ।

(ख) स्थानीय तहमा भाषा र गणितमा दख्खल भएका जगेडा शिक्षकहरूको व्यवस्था गरी शिक्षक अभाव भएका विद्यालयहरूमा आवधिक पूर्ति गर्न स्थानीय सरकारले सक्छ ।
(ग) बालविकास कक्षालाई स्मार्ट टिभी लगायत सिकाइ र खेलकुदका सामग्रीहरूले सुुसज्जित गरिदिन सक्छ ।
(घ) बालविकास सहजकर्ताहरूको पेसागत विकास र उचित प्रोत्साहनका लागि बजेट व्यवस्थापन गरिदिन सक्छ ।
(ङ) साना कक्षाहरूलाई बालमैत्री बनाउन आवश्यक सामग्री व्यवस्थापन गरिदिन सक्छ ।
(च) विद्यालयहरूमा प्राज्ञिक व्यक्तिलाई प्रअको जिम्मेवारी दिने योजना बनाउन सक्छ । त्यस्ता प्रअलाई साना कक्षाको सिकाइ बलियो बनाउने योजना निर्माण गर्न लगाउन सक्छ । प्रअले बनाएका त्यस्ता योजनालाई कार्यान्वयनमा सहयोग गर्न आर्थिक व्यवस्था गरिदिन सक्छ ।
(छ) विद्यालयको नियमित सुपरीवेक्षण गरी कर्तव्यनिष्ट र इमान्दार शिक्षकहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम बनाउन सक्छ । खराब शिक्षकहरूलाई नसिहत दिन सक्छ ।
(ज) स्थानीय पाठ्यक्रम, पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरू निर्माण गरी आफ्नो तहमा लागू गर्न गर्न सक्छ ।
(झ) आफ्नो स्थानीय तहको सुक्ष्म शैक्षिक योजना निर्माण गरेर आधारभूत सिकाइको क्षेत्रमा अन्य थुप्रै कामहरू स्थानीय सरकारले गर्न सक्छ ।

५. निष्कर्ष ः
समस्या जहाँतहीँ हुन्छन् नै । समस्यासँगै समाधानका उपाय पनि सँगसगैँ आएका हुन्छन् । बस् ! खोज्नुप¥यो । चिन्तनमनन गर्नुप¥यो । अन्तरदृष्टिपूर्ण सिकाइको चिन्तन । भिजन र मिसन भएपछि समस्याको समाधान नहुने भन्ने हुँदैन । भिजन बनाउनु¥यो । मिसनमालागिराख्नप¥यो । फलामलाई तताइराख्नुप¥यो अनि पिटिराख्नुप¥यो । तब पो चाहेको आकार बन्छ । आ–आफ्नो ठाउँमा सबै जिम्मेवार बन्नुप¥यो । चेतना नै सबै विकासको जरा हो ।

चेतना विद्यालयमा परिष्कृत हुन्छ । सिकाइले चेतना जगाउँछ । आधारभूत सिकाइ नै दिगो सिकाइको जग हो । तसर्थ आधारभूत सिकाइको सुधार र गुणस्तर अभिवृद्धिका लागि विद्यालयहरूलाई तयारी बनाउनुप¥यो, विद्यालयहरू तयार हुनुप¥यो । शिक्षकहरूलाई तिखार्नुप¥यो । शिक्षकहरू तिखारिनुप¥यो ।

आधारभूत सिकाइलाई कसैले उपेक्षा गर्नु भएन । यसो गर्नु भनेको मोही माग्नु ढुङ्ग्रो लुकाउनु भनेजस्तै हो । हैन भने, नाकैमुनिको फोहोर नदेखेपछि, देख्न नचाहेपछि, देखेर पनि सफा गर्ने बुद्धि नपलाएपछि दुर्गन्ध सुँघेर र रोगी भएर बस्न त सबै तयार हुनैप¥यो । अस्तु । नवविकल्प साप्ताहिकमा प्रकाशित