ताजा समाचार:
Search

बेनीको कालिपुलमा सडकमै गोदाम र कुखुरापालन (फोटो/भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
पुस ४ गते ।

दैनिक सयौंको संख्यामा सवारीसाधन ओहोरदोहर गर्ने बेनीको कालिपुल स्थित सडक अतिक्रमण गरेर व्यापारीले गोदामनै बनाएका छन् । बेनी–जोमसोम –कोरला सडकको प्रवेशद्धारका रुपमा रहेको कालिपुल स्थित सडक छेवैमा राखिएका सामग्रीका कारण सडक साघुरो भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ । सडक छेवैमा छरपस्ट रुपमा सामग्रीका कारण पैदलयात्रा असहज भएको छ ।

कालिपुल स्थित पेट्रोलपम्प देखि जलजला गाउँपालिका ३ बगरफाँट जाने झोलुङ्गे पुलसम्मका बाया साइडका घरहरुमा व्यवसाय गर्ने व्यवसायीहरुले अगाडीको सडक अतिक्रमण गरेर सामग्री र सवारीसाधन राख्ने गरेका छन् । अझ रोचक पक्ष त सडकमै कुखुरापालन समेत गरिएको छ । सडकका दुवै साइडमा सवारीसाधन पार्किङ गरेर सडकलाई साघुरो पारिएको छ । पुराना थोत्रा सवारीसाधन पार्किङ गर्ने थलो पनि यही सडकमा बनाइएको छ ।

दैनिक रुपमा सयौंको संख्यामा सवारीसाधन र सर्वसाधरण ओहोरदोहर गर्ने सडक अतिक्रमित हुँदा सरोकारवालाहरु चुपचाप छन् । सडक अतिक्रमण गरेर राखिएका सामानहरु हटाउन अनुरोध गर्दा उनीहरुले अटेर गर्दै आएको ट्राफिक प्रहरीको भनाई छ । हामीले मात्र यो अतिक्रमण हटाउन सक्दैनौं ट्राफिक प्रहरी प्रमुख इन्द्रजंग थापाले भन्नुभयो ‘हामीलाई नगरका जनप्रतिनिधि,जिल्ला प्रहरी कार्यालय र स्थानीयवासीको सहयोग आवश्यक पर्दछ ।’ सडकमा अस्तव्यस्त रुपमा राखिएका सामानहरु हटाउन जाँदा व्यवसायीहरु उल्टै प्रतिरोधमा उत्रिने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

‘कुखुरका पाल्नका लागि बनाइएको फलामको खोरलाई सडकको छवैमा राखिएको छ । साथै कुखुराको दानाको जस्तो दखिने ठूलाठूला बोरालाई चिनेर राखिएका छन् । यसलाई हटाउन हामीले पटकपटक व्यवसायीलाई भन्यौं तर अटेर गर्नुहुन्छ । यो हटाउन ट्राफिक प्रहरीले मात्र सक्दैन यहाँका जनप्रतिनिधिको साथ र सहयोग आवश्यक हुन्छ ।’ ट्राफिक प्रहरी प्रमुख इन्द्रजंग थापाले भन्नुभयो । सडक अतिक्रमण हटाउन जनप्रतिनिधिहरुले साथ नदिएको उहाँको गुनासो छ ।

सडक आसपासमा राखिएका सामग्रीका कारण सडक साघुरो हुँदा बगरफाँटबाट आउने विद्यार्थी र सर्वसाधरणहरुलाई पैदल हिड्न समेत समस्या भएको उहाँले बताउनुभयो । साथै जोमसोम जाने र आउने सवारीसाधनको चाप भएकाले पनि यो क्षेत्रमा सडक अतिक्रमणलाई जसरी पनि हटाउनुपर्ने उहाँले बताउनुभयो ।

बेनी नगरपालिका ८ का वडाअध्यक्ष उत्तमकुमार कर्माचार्यले पेट्रोल पम्पदेखि झोलुङ्गे पुलसम्मको सडकलाई फराकिलो बनाउने र नदी किनार तर्फ रेलिङ लगाउने वडाको योजना भएकाले आगमी दिनमा अतिक्रमण हटाइने प्रतिक्रिया दिनुभयो ।