अघि बढ्यो सिम–लाम्पाटा सडकखण्ड स्तरोन्नति योजना

विकल्प न्यूज/बेनी
पुस ३ गते ।


बेनी दरबाङ सडक अन्तर्गत दोस्रो खण्ड सिम देखि लाम्पाटा सम्मको सडक स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना अगाडी बढेको छ । भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत उक्त सडक स्तरोन्नति सहित कालेपत्रे गर्ने योजना थालेको हो । योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले यतिखेर प्रारम्भिक चरणको कामलाई तिव्रता दिएका छन् । ग्यावियन झाली भर्ने,पर्खाल लगाउने, सडक चौढा पार्न कटान गर्ने लगायतका काम तिव्ररुपमा भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयले अघिल्लो वर्षको पुस १८ गते अमर देवशयर जेभि कन्ट्रक्सनसँग ४ किलोमिटर सडक स्तरोन्नति सहित कालोपत्रे गर्न १० करोड ७० लाख रुपैयाँमा २०८० असार मसान्त सम्म सक्ने गरी ठेक्का सम्झौता गरेको हो । ठेकेदारले यो वर्षबाट स्तरोन्नतिको काम तिव्र पारेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।

सडक ८ मिटर फराकिलो बनाएर सात मिटर चौढाईमा डिबिएसडी कालोपत्रे,नाली र पर्खाल निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई कार्यालयले ताकेता गरेको उहाँको भनाई छ । उहाँका अनुसार अहिले सम्म १० प्रतिशत भौतिक प्रगति भएको छ । बेनी दरबाङ सडकको पहिलो चरण अन्तर्गत बेनी देखि सिम सम्मको सडक स्तरोन्नति सहित कालोपत्रेको काम सकिएको छ ।
गण्डकी प्रदेश सरकारले एक प्रदेश निर्वाचन क्षेत्र एक नमुना सडक अन्र्गतको तेस्रो खण्ड मंगला गाउँपालिका २ लाम्पाटा देखि मालिका गाउँपालिका केन्द्र दरवाङ सम्मको ८ किलोमिटर सडक निर्माण योजना भने ठेकेदारले काम नगर्दा अलपत्र परेको छ । उक्त सडक विरुवा –क्याराभान जेभीले २०७६ असार ३१ गते २२ करोड ५७ लाख ९ सय ३२ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । योजनामा अहिले सम्म ६५ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।