मालढुङ्गा–बेनी सडक अलपत्र पारेर कहाँ गयो ठेकेदार ?

ठाकुरप्रसाद आचार्य/म्याग्दी
मङ्सिर २३ गते ।

म्याग्दी र मुस्ताङका लागि मध्यपहाडी लोकमार्ग पोखरा – बागलुङ सडक हुँदै गुडेका सवारीसाधन पर्वतको मालढुङ्गा पुगेर रोकिन्छन् र दाया मोडिन्छन् । फराकिलो र चिल्लो पोखरा – बागलुङ सडक जस्तै होला मालढुङ्गा –बेनी सडक ! यस्तै सोच राखेर अगाडी बढेका सवारीचालक र यात्रु सडकको अवस्था देख्दा अचम्मित मात्र हुँदैनन् सडकको हालत देखेर राज्यका निकायहरुलाई गाली पनि गर्दछन् होला ।

२३ वर्ष अघि ट्रयाक खुलेको यो सडकको स्तरोन्नती गर्न राज्यले विगतमा प्राथमिकतामा कहिल्यै पारेन । अघिल्लो वर्ष देखि थालिएको स्तरोउन्नती योजना पनि ठेकेदारले काम गर्न छाडेपछि अहिले अलपत्र छ । ठेकेदारले विभिन्न वहाना बनाएर सडक योजना अलपत्र पारेको छ ।
यही सडक भएर देशका प्रधानमन्त्री देखि मन्त्री र ठूला दलका नेताहरु धेरैपटक ओहोरदोहोर गर्नुभयो । दैनिक रुपमा म्याग्दी र मुस्ताङको भ्रमणमा निस्केका सयौं सवारीसाधनहरु गुड्ने यो सडक यतिखेर ठेकेदारले काम गर्न छाडेपछि अलपत्र छ ।

राष्ट्रिय गौरबको कालिगण्डकी करिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा –बेनी सडक खण्डको स्तरोन्नती सहित कालोपत्रे योजनाको ठेक्का लिएको ठेकेदार लामोसमय सम्मपनि काममा नर्फकिएपछि सडक अलपत्र परेको हो । जिर्ण र अस्तव्यस्त सडकका कारण सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ ।

मालढुङ्गा देखि बेनी सम्म जम्मा १३ किलोमिटर सडक पार गर्न डेढ घण्टा समय लाग्ने गरेको छ । वर्षातका समयमा सडक माथिबाट आएको पहिरो,ठूलाठूला पानीका पोखरी, खाल्टाखुल्टी र अलपत्र अवस्थामा छाडिएका निर्माण सामग्रीहरुका कारण सवारीसाधन आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।

राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति योजनाको २०७७ चैतमा ५२ करोड ८६ लाख ३१ ह्जार दुईसय ८१ रुपियाँमा एपेक्स –खड्का –कृष्ण जेभीसँग ठेक्का सम्झौता भएको थियो । अघिल्लो वर्ष देखि सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले पाँचमहिना यता सडक योजना अलपत्र पारेर छाडेको छ ।

पछिल्लो समय ठेकेदारकाबीच एकआपसमा विवाद र असमझदारी बढेपछि योजना निर्माण रोकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर मन्दा पन्तले बताउनुभयो ।

ठेकेदारसँग आयोजनाले छलफल गरेको छ इन्जिनियर पन्तले भन्नुभयो ‘एकहप्ता भित्र सडक मर्मत थाल्नुका साथै मजदुर र उपकरण सहित कार्यस्थलमा परिचालन हुने ठेकेदार कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ ।’ ठेकेदारले प्रतिवद्धता गरेको समयअवधिमा परिचालन नभए आयोजनाले अन्य कारबाहीको प्रक्रिया थाल्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म २४ प्रतिशत भौतिक प्रगति भएको छ ।

६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गरिने योजनामा उल्लेख छ ।

मालढुङ्गा –बेनी सडकको अवस्था तस्विहरु । तस्विर ठाकुरप्रसाद आचार्य