बेनी–जोमसोम–कोरला सडकमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाहीको चेतावनी

ठाकुरप्रसाद आचार्य/म्याग्दी
मङ्सिर ११ गते ।

राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी करिडोर बेनी–जोमसोम –कोरला सडक अन्तर्गत पर्ने तिनवटा खण्डको ठेक्का लिएर ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

थपिएको म्यादभित्र पनि निर्माण कम्पनी योजना सम्पन्न गर्न कार्यस्थलमा परिचालन नभएपछि ठेक्का तोड्ने र कम्पनीलाई कालोसूचीका लागि सिफारिस गर्ने सम्मको प्रक्रिया आयोजनाले अगाडि बढाएको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो । पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले योजनामा काम गर्न नआएपछि प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।

खन्ती देखि जोमसोम सम्मको १६ किलोमिटर सडक स्तरोन्नती सहित कालोपत्रे गर्ने ठेक्का लिएको पप्पु गौरी पार्वत कोशी न्यौपाने जेभी, जोमसोम देखि कागबेनी सम्म १३ किलोमिटर सडक कालोपत्रे गर्ने योजनाको निर्माण कम्पनी रौताह आत्रेय सारस जेभी र चराङ देखि छोसेर सम्मको २५ किलोमिटर सडक स्तरोन्नती सहित ग्राभेल गर्ने जिम्मा लिएको निर्माण कम्पनी तामाङ–गौरी पर्वत कोशी एण्ड न्यौपाने जेभीलाई ठेक्का तोड्ेर नयाँ प्रक्रिया थाल्ने सम्मको चेतावनी आयोजनाले दिएको छ ।

खन्ती देखि जोमसोम सम्मको १६ किलोमिटर सडकको भौतिक प्रगति अहिलेसम्म करिब ६५ प्रतिशत छ । तोकिएको समयमा निर्माण सम्पन्न गर्न ध्यान नदिएपछि कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । यस्तै चराङ देखि छोसेर सम्मको सडकको भौतिक प्रगति ९० प्रतिशतको हारहारीमा पुगेको भएपनि निर्माण कम्पनीले अन्तिम अवस्थामा आएर ढिलासुस्ती गरेको र काम सम्पन्न गर्न ध्यान नदिएका कारण कारवाहीको चेतावनी दिइएको आयोजनाले जनाएको छ ।

यस्तै जोमसोम देखि कागबेनी सम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग अघिल्लो वर्ष ठेक्का सम्झौता भएपनि पहिलो वर्षमै सन्तोषजनक काम भएको छैन । मोभिलाइजेसनको रकम बुझेर कार्यस्थलमा परिचालन नभएपछि कम्पनीलाई भुक्तानी गरिएको साँढे दुईकरोड रुपियाँ धरौटी खाताबाट तानिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

ठेक्का सम्झौता भएको पहिलो वर्षमै ठेकेदारबाट सन्तोषजनक काम हुनसकेन उहाँले भन्नुभयो ‘अहिले सम्म जम्मा ९ प्रतिशत भौतिक प्रगति भएको छ । कार्यस्थलमा निर्माण कम्पनी परिचालन भएको छैन । पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले ध्यान नदिएपछि हामीले चेतावनी स्वरुप कारवाहीको प्रक्रियाका लागि सूचना प्रकाशित गरेका हौं ।’

आयोजनाले कारबाही प्रक्रिया अगाडि बढाएपछि निर्माण कम्पनीहरु सम्पर्कमा आएका छन् उहाँले भन्नुभयो ‘कार्यस्थलमा फर्किएर काम नथाले ठेक्का तोड्ने र कालोसूचीका लागि सिफारिस गर्ने सम्मको कारवाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छौं ।’

बेनी–जोमसोम हुँदै चीनको सिमाना कोरला नाकासम्मको दुई सय किलोमिटर सडकको निर्माण २०७३ मङ्सिर २१ गते थालिएको थियो । सो सडक निर्माण गर्न सात अर्ब २७ करोड रुपियाँ लागतमा १३ वटा प्याकेज बनाई ठेक्का लगाइएको थियो ।

जोमसोम–कोरला एकसय १० किलोमिटर सडकलाई सात खण्डमा विभाजन गरी काम शुरु भएको थियो । सडकको दुई पटक म्याद थप भइसकेको छ भने पछिल्लो समय थपिएको म्याद आगमी असारमा सकिँदै छ । यसैगरी घाँस स्थित पक्की पुलको ठेक्का लिएको सिरुवा कन्ट्रक्सनले काम नगरेपछि ठेक्का तोडेर कालोसूचीका लागि सिफारिस गरिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

२०७७ मा पुल निर्माण सक्नुपर्नेमा २०७७ असोज देखि नै काम नगरी बसेकाले पटकपटक ताकेता गर्दा पनि कार्यस्थलमा परिचालन नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता तोडेर कालोसूचीमा राख्नका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो । साभार ः गोरखापत्र अनलाइन