म्याग्दीमा एमालेको बर्चश्वलाई खम्बिरको ब्रेक !

ठाकुरप्रसाद आचार्य/म्याग्दी
मङ्सिर ७ गते ।

म्याग्दीमा प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)ले निरन्तर आफ्नो अग्रता कायम राख्नुभएको छ । तेस्रो पटक चुनावी मैदानमा उत्रिनुभएका खम्बिरले यसपाली एमालेको बर्चश्व रहेको म्याग्दीमा ब्रेक लगाउन सक्ने संभावना बढेर गएको छ । गुर्जा देखि बेनीको वडा नम्बर १० पात्लेखेत सम्मको मतगणनामा ५ सय १७ मत लिएर आफ्नो पालिका टेक्नुभएका खम्बिरलाई जित निकाल्न निकै सहज देखिन्छ । खम्बिरले रघुगंगामा मात्र करिब दुईहजारले लिड गर्ने आँकलन छ ।

बुधवार विहानसम्म धवलागिरि,मालिका,मंगला र बेनी नगरपालिकाको मतगणना सम्पन्न गर्दा कांग्रेसका उम्मेदवार गर्बुजाले १५ हजार ३ सय ५१ मत प्राप्त गरी ५ सय १७ ले अग्रता लिनुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार श्रेष्ठले १४ हजार ८ सय ३४ मत ल्याएर गर्बुजालाई पछ्याइरहनुभएको छ ।

मतगणना रघुगंगा गाउँपालिका पुगेपछि गठबन्धनले फराकिलो मतले एमालेलाई पछाडी पार्ने गठबन्धन पक्षधरहरु बताउँछन् । रघुगंगा नेपाली कांग्रेसको बलियो पालिका हो । कांग्रेसका उम्मेदवार गर्बुजाको आफ्नो पालिका भएकाले पनि यहाँ गर्बुजाले धेरै मत ल्याउने देखिएको छ । रघुगंगाका दग्नाम,बेगखोला,पाखापानी,कुइनेमंगले,झिँ र पिप्ले गठबन्धनका राम्रो मत आउने वडा हुन ।

अघिल्लो २०७४ को निर्वाचनमा रघुगंगामा एमालेका उम्मेदवार भन्दा गर्बुजाले करिब एकहजार सातसय मत धेरै ल्याउनुभएको थियो । यसपाली माओवादीको साथले त्यो मत बढेर करिब २ हजारको हारहारीमा पुग्ने कांग्रेसको अपेक्षा छ ।

यसैगरी अन्नपूर्ण गाउँपालिकामा पनि कांग्रेसले राम्रो मत ल्याउने अपेक्षा गरिएको छ । अन्पूर्णलाई एमालेले पनि राम्रो मत पाउने पालिकाका रुपमा राखेको छ । तर मत गणना अन्नपूर्णमा पुग्दा धेरै मतान्तर हुने हुँदा एमालेलाई जित निकाल्न कठिन देखिएको छ ।

नेकपा एमालेले धवलागिरि,मंगला र बेनी नगरपालिकामा अपेक्षा गरेअनुरुपको मत प्राप्त गर्न सकेन । एमालेको मंगला र बेनी नगरपालिकामा गठबन्धनलाई फराकिलो मतले पछाडी पार्ने आकलन फेल भयो ।

गठबन्धनमा आवद्ध दलहरुको मत इमान्दाररुपमा व्यक्त भएको देखिन्छ । गठबन्धनमा आवद्ध दलहरुकाबीच इमानदारिता कायम भएकाले म्याग्दीमा गठबन्धनले सवै सिटमा सहजरुपमा जित्ने देखिएको नेपाली कांग्रेसका उपसभापति केवि भण्डारीले बताउनुभयो ।

२०४८ साल पछिका निर्वाचन मध्य एकपटक कांग्रेसले २०५६ र माओवादीले २०६४ मा जितेको थियो । २०४८,२०५१,२०७०,२०७४ का निर्वाचनहरुमा निरन्तर नेकपा एमालेले जित्दै आएको जिल्ला हो । २०७४ को निर्वाचनमा करिब दुईहजार तिनसय मतले नेकपा एमालेका उम्मेदवार भुपेन्द्र थापासँग गर्बुजा पराजित हुुनुभएको थियो ।

उतिबेला एकातिर एमाले र माओवादीको र अर्को तिर काँग्रेसक राप्रपाको गठबन्धन थियो । दुईदुई पटक निर्वाचनमा पराजित भएपनि गर्बुजा जिल्लामै बसेर कांग्रेसको संगठनलाई बलियो बनाउन लाग्नुभयो । त्यसैको परिणाम यसपाली देखिँदै छ ।

अघिल्लो प्रदेश सभा तर्फको निर्वाचनमा बामगठबन्धन गरेर एमालेले प्रदेश (ख) र माओवादीले प्रदेश (क) जितेका थिए । यसपाली प्रदेश (ख) मा गठबन्धनका उम्मेदवार नेकपा माओवादीका रेशम जुग्जालीले एकसय २ मत अन्तरले नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाई पराजित गर्दै विजयी हुनुभयो । गठबन्धनमा इमानदारिता कायम भएकाले जुग्जालीलाई जित निकाल्ने सहज भयो । प्रदेश (क) को मतगणना जारी छ । यहाँ पनि मतगणनाको ट्रेनलाई हेर्दा गठबन्धनकै पल्लभारी हुने देखिएको छ ।

म्याग्दीलाई एमालेले आफ्नो गढका रुपमा लिने गर्दछ । गत स्थानीय तहको निर्वाचनमा एमालेले ६ मध्य ४ स्थानीय तह जितेको थियो । भोली विहानसम्म मतगणनाको अन्तिम नतिजा आउने देखिएको छ ।