म्याग्दीमा कांग्रेसका गर्बुजा र एमालेका श्रेष्ठबीच कडा प्रतिस्पर्धा

ठाकुरप्रसाद आचार्य\म्याग्दी
मङ्सिर ६ गते ।

म्याग्दीको प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा देखिएको छ । मतगणनाको प्रारम्भिक अवस्थालाई हेर्दा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बजा –खम्बिर) र नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठबीच निकै रोचक प्रतिस्पर्धा देखिएको छ ।
धवलागिरि गाउँपालिकाको मतगणना सकिँदा कांग्रेसका उम्मेदवार गर्बुजा झिनो मतअन्तरले अगाडि देखिनुभयो । गर्बुजाले धवलागिरि गाउँपालिकाबाट २६५६ मत प्राप्त गर्नुभयो भने एमालेका श्रेष्ठले २५९८ मत प्राप्त गर्नुभयो ।

खम्बिर जम्मा ५८ मतले अगाडि हुनुभयो । सत्ता गठबन्धनले पालिका जितेको पालिकामा कम मतले अग्रता हुँदा काँग्रेसले अपेक्षा गरेअनुसारको मत प्राप्त गर्न सकेन । यस्तै एमालेले स्थानीय तहको निर्वाचनमा पराजित भएपनि धवलागिरिलाई आफ्नो बलियो पालिकाका रुपमा हेरेको थियो ।
एमालेले प्रतिनिधिसभा तर्फ एकसय देखि दुईसय सम्मको अग्रता र प्रदेश सभा तर्फ ५ सय को अग्रताको अपेक्षा गरेको थियो । धवलागिरिमा दुवै पार्टीको अनुमान फेल भएको छ ।

सोमबार साँझबाट थालिएको मतगणनामा मंगलवार विहानसम्म धवलागिरि गाउँपालिकाका सवै वडा र मालिकको १ र २ नम्बर वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ा मालिकाको वडा नम्बर १ र २ को गणना गर्दा गर्बुजाले मत थप्दै ३८०७ र श्रेष्ठले ३६४७ मत प्राप्त गर्नुभएको छ । मालिकामा गठबन्धन बलियो मानिएको भएपनि वडा नम्बर १ र २ को मतगणना सकिँदा प्रतिनिधि र प्रदेश सभामा गठबन्धनले अपेक्षा अनुसार मत प्राप्त गर्न सकेन ।

यसैगरी प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ नेकपा एमालेमा उम्मेदवार यामबहादुर गर्बुजाले तिन हजार ७ सय ९५ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशम जुग्जालीले ३ हजार ५ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

एमालेका गर्बुजा माओवादीका जुग्जाली भन्दा २ सय २६ मतले अगाडि हुनुहुन्छ । प्रदेश सभा तर्फको पनि मतगणना धवलागिरी गाउँपालिका सकिएर मालिकाको १ र २ नम्बर वडा सकिएको छ । मालिका गाउँपालिकाको मतगणना जारी छ । मालिकामा गठबन्धनले एमालेलाई फराकिलो मतअन्तरले अग्रता लिन सक्छ वा सक्दैन यो हेर्न केहीबेर पर्खनुपर्दछ । यता मंगला गाउँपालिकामा आएपछि नेकपा एमालेले काँग्रेसलाई पछाडी पार्ने देखिएको छ ।