ताजा समाचार:
Search

२६ घण्टामा गुर्जाका मतपेटिका आइपुग्यो,९ बजेबाट मतगणना

ठाकुरप्रसाद आचार्य\म्याग्दी
मङ्सिर ५ गते ।

म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जाको मतपेटिका २६ घण्टामा बेनी आइपुगेको छ । मतदान सम्पन्न भएको २६ घण्टापछि सोमबार साँझ मतपेटिका बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको हो । वडा नम्बर ४ मुदी बगराको मतपेटिका पनि सोमबार साँझ बेनी आइपुगेको हो ।
यातायातको पहुँच नभएको गुर्जा र बगराका मतपेटिका मतदान गराउन गएको कर्मचारी र सुरक्षाकर्मी सहितको टोलीले मतपेटिका बोकेर ९ घण्टा पैदलयात्रा गरेका थिए । मतपेटिका बोकेर आएको टोली धवलागिरि गाउँपालिका वडा २ लमसुङबाट यातायातको साधन प्रयोग बेनी आएको छ ।

साँझ बसेको सर्वदलीय वैठकले प्रदेश निर्वाचन क्षेत्र नं. २ को गुर्जाबाट मतगणना थाल्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको सभाहलमा मतगणनास्थल तयार पारिएको छ । प्रत्येक एक\एक घण्टामा मतगणनाको नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।