दुर्गम गुर्जाको मतपेटिका बोकेर हिड्यो टोली

ठाकुरप्रसाद आचार्य\म्याग्दी
मङ्सिर ५ गते ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा सोमबार साँझबाट मात्र सुरु हुने भएको छ । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । गुर्जा र बगराको मतपेटिका बेनी ल्याउन ९ घण्टा लाग्छ ।

गुर्जा र बगराको बाहेक अन्य सवै मतदान केन्द्रका मतपेटिका आइतबार राती मतगणना स्थलमा आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको सभाहलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाका लागि आवश्यक तयारी गरिएको छ ।

उहाँका अनुसार गुर्जाको मतपेटिका लिएर कर्मचारी र सुरक्षाकर्मीको टोली सोमबार विहानै पैदल हिडेको छ । यस्तै मुदीको बगरामा रहेको मतदान केन्द्रका मतपेटिका ल्याउनका लागि हेलिकप्टरको माग गरिएको उहाँले बताउनुभयो ।

बगराका मतदान अधिकृत विरामी भएको भन्ने खबर आएको छ सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो ‘बगराबाट यातायातको पहुँच भएको सम्म हिडेर आउन करिब ८ घण्टा लाग्छ । मतदान अधिकृत विरामी भएको खबर आएको छ,मतपेटिका ल्याउन हेलिकप्टरको माग गरेका छौं ।’गुर्जाको मतपेटिका धवलागिरि गाउँपालिकाको केन्द्र मुना सम्म आउन करिब ८ घण्टा लाग्छ । मुना देखि सवारी साधनमार्फत बेनी ल्याइपु¥याउन साढे दुईघण्टा लाग्छ ।

आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा म्याग्दीमा ५८ प्रतिशत बढी मत खसेको छ । जिल्लाका ८२ मतदानस्थलका एकसय २० मतदान केन्द्रमा भएको निर्वाचनमा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

छ वटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८६ हजार १२० मतदाता रहेकोमा ५० हजार ६ सय २५ जनाले निर्वाचनमा मतदान गरेको जनाइएको छ । मतदानमा पुरुष २४ हजार ३३१ र महिला २६ हजार २९३ जनाले सहभागीता जनाएका छन् । जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सवै मतपेटिका आइपुगेपछि सोमबार साँझबाट मात्र मतगणना थालिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

दुर्गम गुर्जाबाट मतपेटिका बोकेर हिडेको टोली तस्विर सौजन्य  मतदान अधिकृत अमृत सुवेदी