म्याग्दीमा ६० प्रतिशत मत खस्यो, मतपेटिका संकलन सुरु

ठाकुरप्रसाद आचार्य/बेनी
मङ्सिर ४ गते ।

आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा म्याग्दीमा करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ ।

जिल्लाका ८६ मतदानस्थलका एकसय २० मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भई मतपेटिका संकलन थालिएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सुरक्षाकर्मी सहितको टोलीले मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन थालेका छन् । सदरमुकाम नजिक रहेका मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आउन थालेको सहायक निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो । धौलागिरि र रघुगंगा गाउँपालिकाका विकटमा मतदान केन्द्रका मतपेटिका साेमबार मात्र आइपुग्ने निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।

टाढा रहेका मतपेटिका साेमबार दिउसोसम्म मात्र आइपुग्ने उहाँले जानकारी दिनुभयो । सवै मतपेटिका आइपुगेपछि साेमबार साँझबाट मात्र मतगणना थालिने उहाँले बताउनुभयो । धवलागिरि गाउँपालिका १ गुर्जा,४ मुदीको बगरा र रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेका मतपेटिका बेनी ल्याउन करिब ८ घण्टा पैदल हिड्नुपर्दछ ।