ताजा समाचार:
Search

मंसिर ४ पछि म्याग्दीमा गठबन्धन दुला पस्छन् ः एमाले उम्मेदवार

विकल्प न्यूज\बेनी
मंसिर १ गते ।

नेकपा एमालेबाट आसन्न प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले अब राजनीतिक आन्दोलन नभई विकासे आन्दोलनको थालनी गर्नुपर्ने बताउनुभएको छ । एमाले चुनाव प्रचारप्रसार मूल कमिटी म्याग्दीको आयोजनामा आज (बिहीबार) बेनी नगरपालिका–४, तातोपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहनुभएका प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘अब देशमा विकासका लागि राजनीतिक आन्दोलन होइन, विकासको आन्दोलन गर्नुपर्छ । विकासको आन्दोलन नेकपा एमालेले मात्रै गर्न सक्छ । एमालेले सरकारको नेतृत्व गर्दा देशमा विकासको लहर ल्याएको छ । जतिपटक एमाले सरकारमा गयो, त्यति नै राम्रा काम गरेको छ । त्यसैले विकासको आन्दोलनका लागि आसन्न निर्वाचनमा एमाले र एमालेका उम्मेदवारलाई भोट दिएर जिताउनुहोस् ।’ मंसिर ४ पछि गठबन्धन दुला पस्ने उहाँले बताउनुभयो ।

एमाले सरकारमा रहँदा मुलुकलाई दिशानिर्देश गर्ने, कायापलट गर्ने र नीतिगत रुपमा परिवर्तन गर्ने विषयमा धेरे राम्रा कामहरु गरेको बताउँदै उम्मेदवार श्रेष्ठले पहिलोपटक एमालेले २०५१ सालमा सरकारको नेतृत्व गर्दा ‘आफ्नो गाउँ, आफै बनाऔं’ भन्ने कार्यक्रम तथा वृद्धवृद्धालाई सो समयमा एकसय रुपैयाँबाट वृद्धभत्ता दिन सुरु र नौ (स) जस्ता लोककल्याणकारी कार्यक्रम, बजेट र नीतिहरु ल्याएको बताउनुभयो । उहाँले एमालेले २० ग्यारेन्टीसहित घोषणापत्रमार्फत आफूले पाँच वर्षमा गर्ने कार्यक्रम अगाडि सारेको बताउँदै पाँच वर्षभित्र देशभरमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सङ्कल्प रहेकाले एमालेको पक्षमा मतदान गर्न अपिल गर्नुभयो ।

सोही सभामा एमाले प्रदेशसभा (१)का उम्मेदवार देवेन्द्रबहादुर केसीले एमाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले जिल्लाको शिक्षा, स्वास्थ्य, विद्युत, सडक विस्तार तथा स्तरोन्नति गर्नेलगायत थुप्रै कामहरु गरेको बताउनुभयो । उहाँले आफू जिल्ला समन्वय समिति म्याग्दीको नेतृत्व गर्दा जिल्लामा भूकम्पबाट प्रभावित विद्यालयहरुको पुनर्निर्माण, स्वास्थ्यचौकीका भवन निर्माण तथा जनता आवासलगायत म्याग्देली जनताको आवश्यकता र चाहनाअनुसार विकासका काम भएको बताउँदै अब पनि एमालेलाई जिताउन आग्रह गर्नुभयो ।

एमाले म्याग्दीका जिल्ला अध्यक्ष समेत रहनुभएका उम्मेदवार कटुवालले अहिले परमादेशबाट बनेको गठबन्धनको सरकारले डेढ वर्षको समय बित्दा समेत देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो । ‘नवलपुरमा गण्डकी प्रदेशका मुख्यमन्त्रीले १५÷१८ करोड बजेट पठाए । तर म्याग्दीले एक दुई करोड बजेट पनि पाएन । म्याग्दी जस्तो हिमाली जिल्ला । मुस्ताङ जस्तो हिमाली जिल्ला र पर्वत, बागलुङ जस्ता पहाडी जिल्लालाई न्युन बजेट पठाउने ? यस्तो अन्यायपूर्ण व्यवहार गर्ने गठबन्धन सरकार गण्डकी प्रदेश बनेको छ ।

त्यतिमात्र होइन बाँडिएको बजेट आफ्ना बाबुआमाको नाममा प्रतिष्ठान बनाउन बाँडिएको छ, पचाऔं लाख पैसा । यहाँ आज जनताले खानेपानी पाएका छैनन् । महङ्गी बढिरहेको छ । विकास निर्माण अवरुद्ध छ, तर त्यो बजेट कहाँ बाँडियो आफ्ना बाबुआमा, नातागोताको प्रतिष्ठान बनाउनको निम्ती र प्रतिष्ठान बनाउन विनियोजन गरियो । त्यो कुरा हामीले मात्र भनेनौं, काँग्रेसका नेता, कार्यकर्ताले समेत भने ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले पछिल्लोपटक एमालेले सरकारको नेतृत्व गर्दा विद्यालयमा बालबालिकाहरुलाई दैनिक खाजाको व्यवस्था, विद्यालयमा स्टाफनर्स राख्ने, मजदुरलाई न्युनतम १५ हजार रुपैयाँ तलव दिने व्यवस्थालगायत कामहरु गरिएको बताउनुभयो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट बेरोजगारलाई रोजगारको सिर्जना, विदेशबाट फर्किएका युवालाई सहुलियत कर्जाको व्यवस्था गरिएको बताउँदै अब पनि जनमुखी बजेट र योजना निर्माण गरी कार्यान्वयन गर्न तथा जनचाहनाअनुसार देशको विकास गर्नका लागि एमालेलाई भोट दिएर विजयी बनाउनुपर्ने उहाँले बताउनुभयो ।

एमाले गण्डकी प्रदेश कमिटी सदस्य देवबहादुर घले र अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मन्तव्य व्यक्त गरेको कार्यक्रम एमाले जिल्ला सदस्य गोविन्द पौडेलको स्वागत, नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालन र वडा कमिटी अध्यक्ष ईश्वरसिंह खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । गएको कार्तिक १८ गतेबाट सुरु भएको एमालेको औपचारिक चुनावी कार्यक्रम आज तातोपानी पुगेर सकिएको छ । सोही क्रममा सिङ्गा, राक्से, तातोपानी बजारलगायत क्षेत्रमा घरदैलो र मतदाता भेटघाट पनि गरिएको थियो ।