ताजा समाचार:
Search

म्याग्दीका मतदाताको साथ सहयोग र माया मलाई छ ः उम्मेदवार श्रेष्ठ

विकल्प न्यूज\बेनी
मंसिर १ गते ।
आगामी आइतबार सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीले निवर्तमान जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहेका श्रेष्ठले बितेका चार दशकमा म्याग्दीको राजनीति, समाजसेवा र विकास निर्माणको काममा आफुलाई समर्पित गर्दै आएका छन् । सबैसँग घुलमिल भएर काम गर्न सक्ने उनी म्याग्दीको राजनीतिमा स्वच्छ छवि भएका पारदर्शी नेताको रुपमा लोकप्रिय छन् । नेकपा एमालेको सर्वसम्मत उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका श्रेष्ठ सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका जिल्ला सभापति खम्बीर गर्बुजासँग प्रतिस्पर्धा गर्दैछन् । घरदैलो अभियान र अन्तिम चरणको चुनावी प्रचारमा व्यस्त रहेका उम्मेदवार श्रेष्ठसँग मङ्गलबार अन्नपूर्ण गाउँपालिकाको घारमा गरिएको चुनावी अभियान केन्द्रित कुराकानी यहाँ प्रस्तुत गरिएको छः

एमालेको चुनावी अभियान कसरी अघि बढिरहेको छ ?

हामीहरु घरदैलो अभियान र चुनावी प्रचार सभाको अन्तिम चरणमा छौं । निर्वाचन आयोगले दिएको १७ दिनको समय सीमाभित्र मतदाता भेटघाट सम्पन्न गर्न कार्यतालिका बनाएरै अघि बढेका छौं । अघिल्ला निर्वाचनका तुलनामा यसपटक प्रचारप्रसारका लागि धेरै समय नभए पनि सम्भव भएसम्म जनताको घरदैलोमा पुग्ने र हाम्रा एजेन्डा सुनाएर मत मागिरहेका छौं ।

मतदाताहरुले तपाईंलाई कस्ता प्रश्न गरेका छन् त ?
मतदाताहरुले खास प्रश्न गर्नुभएको छैन । कुराकानी गर्दा नेकपा एमालेलाई आशा र विश्वासको नजरले हेरिरहेको पाएका छौं । म्याग्दीको विकास र समृद्धिको लागि ठोस पहल गर्न सफल हुनुस् भनेर आशीर्वाद दिनुभएको छ ।

तर, सामाजिक सञ्जालमा त एमालेले केही गरेन भन्ने कुरा आइरहेका छन् नि ?
हेर्नुस्, सामाजिक सञ्जाल भनेको स्वतन्त्र ढङ्गले आफ्ना विचार राख्ने ‘भर्चुअल प्लेटफर्म’ हो । यसमा व्यक्त भएका विषयहरु पूरै सही वा गलत हुन्छन् भन्ने पनि होइन । जहाँसम्म एमालेले केही गरेन भन्ने छ त्यस्तो होइन । एमालेले के के ग¥यो भन्ने सबै कुरा यहाँ भनिरहन सम्भव पनि हुँदैन । छोटकरीमा भन्दा म्याग्दीको शिक्षा, स्वास्थ्य, सडक, पुल, खानेपानी, सिँचाइ लगायतका क्षेत्रको विकासमा नेकपा एमालेले दूरगामी महत्वका कामहरु गरेको छ । यसका साथै म्याग्दीलाई हिमाली जिल्लामा सुचीकृत गर्नको लागि पनि हामीले नै पहल गरौं । अहिलेलाई यति भनौं, जिल्लाको विकासमा कुन पार्टीले के ग¥यो भन्नेबारे म सार्वजनिक रुपमा बहस गर्न तयार छु ।

तपाईंलाई जनताले किन भोट दिने त ?
एकदम राम्रो प्रश्न सोध्नुभयो । यसलाई दुइटा कोणबाट हेर्नुपर्छ । पहिलो कुरा, नेकपा (एमाले)लाई देशको सबैभन्दा ठूलो पार्टीको हैसियतमा जनतामा स्थापित गर्न र जनताको जनमत प्राप्त गर्नका लागि नै मेरो उम्मेदवारी हो । हामीले अँगालेको संसदीय व्यवस्थामा सरकार बनाउन संसदमा बहुमत सदस्य चाहिन्छन् । जुन दलसँग बहुमत सदस्य हुन्छन् त्यसले मात्र सरकार गठन गर्न सक्छ । २०५१ सालमा गठन भएको मनमोहन सरकार होस् वा २०७२ र २०७४ का ओली सरकार, एमालेको नेतृत्वमा गठन भएका सरकारहरुले नै राष्ट्रियताको संरक्षण, आर्थिक समृद्धि र जनजीविकाका सवालहरुमा केन्द्रित भई काम गरेका छन् ।

हामी सबैलाई थाहा छ, २०७२ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा अरु दलले त्यसलाई नाकाबन्दी पनि भन्न सकेनन् । तर, ओली नेतृत्वको सरकारले भारतीय नाकाबन्दीको डटेर सामना गरेको थियो । त्यसैगरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सालाई संविधानमा समेट्दा होस् वा चीनसँग पारवहन सम्झौता गरेर, हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै अब नेपालविरुद्ध कहिल्यै नाकाबन्दी नहुने परिस्थिति सिर्जना गरेको छ ।

यसरी हेर्दा २०५१ सालदेखि २०७४ सालको बीचमा गठन भएका नेकपा एमालेको नेतृत्वका सरकारहरुले नै देश र जनताको पक्षमा दूरगामी महत्वका काम गरेका छन् । हिँजो ओली सरकारले सुरु गरेका विकास निर्माणका कामलाई अझै रफ्तारमा अघि बढाउन र ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई साकार पार्न अब पनि एमालेकै नेतृत्वमा सरकार गठन हुनु अहिलेको आवश्यकता हो । त्यसका लागि म्याग्दीबाट हुने प्रतिनिधित्वले सहयोग गर्ने हुँदा मेरो उम्मेदवारीको विशेष महत्व छ । अर्को कुरा, विगत ४० वर्षमा म्याग्दीको विकासका लागि मैले जे जति काम गर्दै आएको छु, त्यसको मूल्याङ्कन गरेर पनि जनताले मलाई जिताउनुहुन्छ भन्ने विश्वास गरेको छु । खाइपाई आएको सरकारी जागिर छाडेर समाजसेवामा लागेको र जनताको सुखदुखमा रुझेभिजेको हुनाले पनि मतदाताले विवेक प्रयोग गर्नुहुन्छ भन्ने लागेको छ ।

म्याग्दी जिल्लाको विकासका लागि तपाईंका एजेन्डा के–के छन् ? 
म्याग्दीलाई राष्ट्रिय राजनीतिको पहुँचमा पु¥याउने र जिल्लाको अहिलेको अवस्थालाई बदल्दै लैजाने हाम्रो प्रमुख एजेन्डा हो । शिक्षा, स्वास्थ्य, उद्योगधन्दा एवं सडक पूर्वाधार आदिको अभावमा म्याग्दी जिल्ला लामो समयसम्म पछाडि प¥यो । २०४६ सालपछि, अझ विशेष गरी २०५१ सालको नेकपा एमालेको ९ महिने सरकारले लागू गरेको ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रमपछि मात्रै नेपालमा विकास बजेट विकेन्द्रित हुन थालेको हो ।

नेकपा एमालेका तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वकोे सरकारले सुरु गरेका ‘आफ्नो गाउँ आफै बनाऔं’, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा आदि नौ ‘स’ र सामाजिक सुरक्षाका कार्यक्रमहरूबाट देशव्यापी रुपमा विकासको लहर सुरु भयो । यसको प्रभावबाट म्याग्दीमा पनि विकास निर्माणले गति लिन थालेको हो । म्याग्दी जिल्लाको अहिलेको आवश्यकता भनेको योजनाबद्ध विकासको ठोस प्रक्रिया थाल्नु र जिल्लालाई अरु छिमेकी जिल्लासरह विकासको प्रक्रियामा अगाडि बढाउनु हो । यिनै एजेन्डालाई समेटेर हामीले जनतासमक्ष प्रतिबद्धतापत्र सार्वजनिक गरेका छौं । त्यसमा म्याग्दी जिल्लाको विकासका लागि नेकपा (एमाले)को स्पष्ट दृष्टिकोण समेटिएको छ । प्रतिबद्धतापत्रमा हामीले उल्लेख गरेका विषयहरुको कार्यान्वयन नै हाम्रो जोडदार एजेन्डा हो ।

 

वास्तवमा हामी धेरै ठूल्ठूला कुरा गर्नेभन्दा पनि योजनाबद्ध, व्यवस्थित र दूरगामी महत्वका स–साना कामहरु गर्दै अघि बढ्न चाहन्छौं । स–साना कामबाट सुरु गरेर आम म्याग्दीवासीको हितमा योगदान गर्नु हाम्रो उद्देश्य हो । म्याग्दीको सामाजिक आर्थिक क्षेत्रको विकास गरी अन्य जिल्लाको दाँजोमा पु¥याउन जिल्लावासीको माग, सल्लाह र सुझावबाटै हाम्रो विकासको यात्रा अघि बढ्नेछ ।

म्याग्दीमा नेपाली काँग्रेसका उम्मेदवारलाई सत्ता गठबन्धनको सहयोग छ । तर, तपाईं त एक्लै चुनावी मैदानमा हुनुहुन्छ । जीत सम्भव छ त ?

हाम्रो जीत सुनिश्चित छ । लेखेर राख्नुस् ।

कसरी ?
यसमा तीन चारओटा कारण छन् । पहिलो, २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गरेको जस्तो चुनावी तालमेल अहिलेको सत्तारुढ गठबन्धनका बीचमा भएको होइन ।

अहिलेको सत्तारुढ गठबन्धन अप्राकृतिक हो । र, यो कमजोर धरातलमा अडिएको छ । सर्वोच्च अदालतको परमादेशबाट गठन भएको देउवा सरकार र त्यसबाट प्राप्त भएको भागबण्डाले मात्रै सत्तारुढ गठबन्धनलाई चुनावसम्म सँगै हिँडाएको हो । चुनावपछि नयाँ सरकार गठन हुने अवस्थामा गठबन्धन टिकाउने आधार समाप्त हुन्छ ।

दोस्रो, सत्तारुढ दलभित्र बढ्दो अविश्वासको वातावरण हो । टिकट वितरणका क्रममा गठबन्धन दलका बीचमा भएको ‘बार्गेनिङ’बाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले एकअर्कालाई ‘डाउनसाइज’ गर्न खोजेको स्पष्टै बुझिन्छ ।

तेस्रो कुरा, अहिलेको सत्तारुढ गठबन्धन स्वार्थको गठजोड भएकाले लामो समय टिक्दैन । चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘काँग्रेससित डिभोर्स भयो’ भन्दै एमालेसँग सहकार्य गर्न आउनुभयो भने पनि अनौठो नमाने हुन्छ । त्यस्तो अवस्थामा फेरि पनि वामपन्थी सरकार गठन हुने सम्भावना प्रबल छ । अहिले काँग्रेसको सबैभन्दा ठूलो डर नै यही हो । स्थानीय चुनावदेखि अहिलेसम्म पनि काँग्रेसको मुख्य चिन्ता माओवादी र एमाले नमिलून् भन्ने नै हो ।

चौथो, २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा पार्टी एकीकरण भएपछि म्याग्दीमा पनि हामीले सहकार्य गरेका हौं । कमजोर सङ्गठन र नीतिगत अस्पष्टता हुँदाहुँदै पनि केन्द्रको निर्देशन मानेर मैले नेकपा म्याग्दीको सचिवको रुपमा काम गरेको छु । त्यसक्रममा तमाम माओवादी कमरेडहरुसँग भावनात्मक रुपमा एकढिक्का हुने अवसर मिल्यो ।

संगठनका हिसाबले जिल्लामा हामी माओवादीभन्दा बलियो अवस्थामा थियौं । तर, वामपन्थी पार्टीबीचको एकता र सहकार्यले नै देश र जनताको हित हुन्छ भन्ने कुरा बुझेर हामीले जिल्लामा माओवादीको नेतृत्व स्वीकार गरेको हो । भोलिका दिनमा फेरि पनि एमाले र माओवादी केन्द्रबीच कार्यगत एकता पनि त हुन सक्छ नि । यो परिस्थितिका कारण देशभक्त, एकताबद्ध र बलियो कम्युनिष्ट पार्टी निर्माण गर्न चाहने नेकपा माओवादी केन्द्रका कामरेडहरुले मलाई मत दिने बलिया आधार छन् । यही मतका आधारमा हामी चुनाव जित्दैछौं ।
चुनाव जित्ने तपाईंहरुको अङ्कगणित के हो ?

कारणहरु मैले माथि नै बताएँ । अङ्कगणितकै कुरा गर्ने हो भने म्याग्दीमा गठबन्धनभन्दा नेकपा एमाले झिनो मतले मात्रै पछाडि छ । स्थानीय चुनावको आँकडाकै कुरा गर्ने हो भने पनि हामी २३ हजार मत कटाएको जिल्लाको सबैभन्दा ठूलो राजनीतिक दल हौं । हिँजो नेकपा माओवादी केन्द्रको महत्वपूर्ण जिम्मेवारीमा रहिसकेका धेरै नेता–कार्यकर्ताहरु अहिले एमालेको जिल्ला कमिटीमा क्रियाशील हुनुहुन्छ । स्थानीय चुनावपछि पनि थुप्रै साथीहरु हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ ।

अर्को कुरा, सरकार गठनको प्रक्रियादेखि नै गठबन्धन बदनाम छ, उनीहरुका बीचमा कसले कति लिने भन्नेमा हानथाप छ । एकले अर्कालाई स्वीकार्ने नगर्ने प्रवृत्ति झन् बढ्दै गएको छ । गठबन्धन सरकार र त्यसमा आबद्ध दलहरुका गतिविधिले जनतालाई चिढ्याउने काम गरेका छन् । यो अवस्थामा हामीले सजिलै प्रतिनिधिसभा तथा प्रदेशसभा जित्ने गरी जनताका बीचमा पुगेका छौं ।

उम्मेदवारकै कुरा गर्नुहुन्छ भने म ४४ वर्षदेखि जिल्लाको राजनीतिमा छु । चार दशकदेखि जनताको सुखदुखमा भिजेको व्यक्ति र ‘रिटायर्ड लाइफ’मा राजनीति सुरु गरेका व्यक्तिमध्ये कसलाई भोट दिने भन्नेबारे मतदाताले राम्रो विवेक प्रयोग गर्नुहुन्छ भन्ने मेरो विश्वास हो । त्यसकारण गठबन्धन भएर हामीलाई केही फरक पर्दैन । यसलाई उम्मेदवारका रुपमा म र मेरो पार्टीले धैरै महत्व दिएको पनि छैन । कुन उम्मेदवार कस्तो हो र कसलाई मत दिनुपर्छ भन्ने म्याग्दीका मतदाताले बडो महत्वका साथ हेरेका छन् ।

अन्त्यमा केही भन्नु छ कि ? 
म हिँजो पनि जनताको बीचमा थिएँ, भोलि पनि जनताको सुखदुखमा सँगै हुनेछु । निर्वाचनले जस्तो परिणाम दिए पनि मैले म्याग्दी छाड्ने कुरा कल्पना बाहिरको कुरा हुन्छ । नेकपा एमालेको कार्यकर्ता भएको नाताले म जनताको बीचमा जाने कुरालाई स्वाभाविक प्रक्रिया ठानेको छु । पञ्चायती शासन व्यवस्थाका विरुद्ध टोलबस्ती स्तरमै पुगेर सङ्गठन निर्माण गरेको अनुभव मसँग छ ।

जनताको बहुदलीय जनवादको मार्गदर्शनअनुसार यहाँसम्म आइपुगेकोले जनता जनार्दन हुन्, तिनलाई रिझाउनुपर्छ । जनताको आदेश र आशीर्वादले मात्रै राजनैतिक जिम्मेवारीहरु प्राप्त गरेर अगाडि बढ्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु । बाँकी निर्णय गर्ने जिम्मा मतदाताको हो ।