बाम–लोकतान्त्रिक गठबन्धनद्धारा रघुगंगाका पाँच ठाउँमा चुनावीसभा

विकल्प न्यूज\बेनी
कात्तिक २८ गते ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीमा चुनाबीप्रचार अभियान लाई आक्रामक बनाएका छन् । सोमबार गठबन्धनले रघुगंगा गाउँपालिका–८ घ्यासीखर्क, वडा नम्बर ७ चिमखोला, वडा नम्बर ४ दर्मिजा, दग्नाम र वडा नम्बर ३ पिप्लेमा चुनावी आमसभा सम्पन्न गरेका हुन् । निर्वाचनको दिन नजिकिँदै जाँदा चुनावी प्रचार प्रसारको अभियानले चुनावको सरगर्मी ह्वात्तै बढाएको छ ।

चुनावी सभाहरुलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमवीर) ले कालीगण्डकी नदीको तीर देखी धौलागिरी हिमालको शिर सम्मको भु–भाग समेटिएको रघुगंगालाई पर्यटन, जलविद्युत, कला संस्कृति, जडिबुटी खेती, कृषि र पशुपालनमा रहेको सम्भावना उजागर गर्दै भौतिक पूर्वाधार निर्माण मार्फत समृद्ध र विकसित बनाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले रघुगंगाको सबै वडामा सडकको ट्याक निर्माण भए पनि त्यसलाई स्तरीय बनाउँदै कालोपत्रे गर्नुपर्ने आबश्यकता रहेको उल्लेख गर्दै गठबन्धनको पक्षमा मतदान भएमा पाँच बर्षमै विकास निर्माण मार्फत जिल्लाले फड्को मार्ने दावि गर्नुभयो ।

त्यसैगरि गठबन्धनबाट प्रदेशसभा (क)का उम्मेदवार नेकपा माओवादी केन्द्रका हरि भण्डारीले विविधताले भरिपूर्ण रघुगंगा गाउँपालिकामा लुकेर रहेका सम्भावनाको उजागर, समस्याहरुको पहिचान र निराकरण संगै सडक, शिक्षा, स्वास्थ्य, खानेपानीका सुविधाविस्तार र गुणस्तर सुधार गर्दै युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने आफ्नो प्रमुख एजेण्डा भएको बताउनुभयो ।

‘‘जनताले चुन्ने प्रतिनिधि संसदको कुर्चिमागएर बस्ने भयो भने विकास कसरी हुन्छ ?त्यसकालागि गठबन्धनले प्रदेशसभामा युवा उम्मेदवारलाई अघि सारेको छ, मेरो उम्मेदवार माओवादी र गठबन्धनका दलहरुहरुको मात्रै होइन, समग्र म्याग्दीको विकास चाहने आम युवाहरुहरुको हो’’–उम्मेदवार भण्डारीले भन्नुभयो । चुनाबी आमसभाहरुमा गठबन्धनका उम्मेदवारहरुलाई बिजयीको शूभकामना सहित स्थानीय मतदाताले स्वागत तथा सम्मान समते गरेका थिए । चुनाव सभामा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायतले पनि बोल्नुभएको थियो ।