एमाले उम्मेदवारहरुको प्रतिवद्धताः ‘भोट दिई जिताएर पठाउनुहोस्, विकास लिएर आउँछौँ’

विकल्प न्यूज\बेनी
कात्तिक २८ गते ।

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताउनुभएको छ ।

नेकपा एमाले चुनाव प्रचार कमिटीद्वारा मालिका गाउँपालिकाको विम, धवलागिरी गाउँपालिकाको खिवाङ र अन्नपूर्ण गाउँपालिकाको शिख र घारमा आयोजित चुनावी आमसभामा बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा क का उम्मेदवार देवेन्द्र बहादुर कटुवाल र प्रदेशसभा ख का उम्मेदवार याम बहादुर गर्वुजाले जनताले दिएको भोटको पैचो विकास र समृद्धिले तिर्ने बताउनुभएको हो ।

नेताहरु भोट माग्न आउछन, चुनाव जितेर जान्छन त्यसपछि कहिल्यै पनि फर्केर आउँदैनन भन्ने आम मानिसहरुको गुनासो छ, प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘हामीलाई जिताएर त हेर्नुस आवश्यकता र समस्याहरुमा हातेमालो गर्न आउनेछौँ’ ।

एमालेले जे बोल्छ त्यो गरेरै छाड्छ, हामी त्यही पार्टीका उम्मेदवार हौँ, तपाईहरुसंग झुटो बोलेर जादैनौँ, उम्मेदवार श्रेष्ठले भन्नुभयो । विमका रहेको कृषि प्राविधिक शिक्षालयलाई देशकै नमुना बनाउने गरि थप पूर्वाधार निर्माण र व्यवस्थापनका कार्यमा पहल गर्ने श्रेष्ठको भनाई थियो ।
प्रदेशसभा ख का उम्मेदवार याम गर्वुजाले युवालाई स्वरोजगार बनाउन कृषि लगायतको उत्पादनमा जोड दिने बताउनुभयो । पर्यटन पूर्वाधार, आधुनिक कृषि खेती, पशुपालन तथा ज्ञान, सिपमा आधारित रोजगारी र आयआर्जनका कार्यक्रमलाई प्रभावकारी कार्यान्वय गर्न पहल गर्ने उम्मेदवार गर्वुजाले प्रतिवद्धता जनाउनुभएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज भूपेन्द्र बहादुर थापाले नेकपा एमाले देशको सजिलो अवस्थामा मात्र होइन संकटको अवस्थामा पनि निडर अगाडि उभिने पार्टी भएको भन्दै यसको उदाहरण भुकम्प पछिको पुननिर्माण, भारतीय नाकावन्दी, कोरोना नियन्त्रण र गुमेका नेपालको भुभाग समेटिएको चुच्चे नक्सा सार्वजनिक गर्नु लगायत रहेको बताउनुभयो ।

नेकपा एमालेका गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने सामथ्र्य नेकपा एमाले संग मात्रै भएको बताउनुभयो । समृद्ध नेपालको संकल्प पुरा गर्नका लागि पनि मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गरि विजयी गराउन अनुरोध समेत गर्नुभयो ।

प्रदेशसभा ख को चुनावीसभामा नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्य सुवास विश्वकर्मा, रेशम भण्डारी, जिल्ला कमिटी उपसचिव थमसरा पुन, सचिवालय सदस्य खरमाया विटालु, धवलागिरी गाउँपालिका कमिटी कार्यवाहक अध्यक्ष रेशम छन्त्याल लगायतका नेताहरुले भोटको अपिल गर्नुभएको थियो ।
त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र क अन्तर्गत सोमवार अन्नपूर्ण गाउँपालिकाको शिख र घारमा भएको चुनावीसभामा प्रदेशसभा क का उम्मेदवार देवेन्द्र बहादुर कटुवालले अन्नपूर्ण गाउँपालिकालाई हाईड्रो हवको रुपमा विकास गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभयो । यो क्षेत्रबाट जतिसक्दो धेरै विद्युत उत्पादनका लागि आयोजनाहरु संचालन गर्ने र त्यसबाट स्थानीयलाई रोजगार लगायतका फाइदा पुग्ने बताउनुभयो ।

उहाँले सडक, शिक्षा, पर्यटन लगायतको विकासमा अग्रणी भूमिका निभाई जनताको आवश्यकता र चाहनालाई पुरा गर्ने विश्वास दिलाउनुभएको छ । मंसिर ४ गते सूर्य चिन्हमा भोट गर्न आग्रह गर्दै उम्मेदवार कटुवालले ५ बर्ष जिल्ला समन्वय समितिको प्रमुख भई काम गर्दाको अनुभवको आधारमा आफ्नो क्षेत्रको समृद्धिका लागि अहोरात्र लाग्ने बताउनुभयो ।

सभालाई सम्वोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले नेकपा एमालेको सरकार हुँदा म्याग्दी जिल्लालाई हिमाली जिल्लामा नामाकरण गरिएको, विभिन्न रणनीतिक सडकहरु निर्माण भएको, उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको स्तरीकरण, विद्युत, खानेपानी, जनता आवास निर्माण, विद्यालय तथा स्वास्थ्य चौकीहरुको भवन निर्माण, पर्यटन पूर्वाधार निर्माण लगायतका विकासका कार्यहरु जिल्लामा भएको बताउनुभयो ।

रहरलाग्दो विकासका काम गर्ने भरलाग्दो पार्टी नेकपा एमाले भएकाले मंसिर ४ को निर्वाचनमा नेकपा एमालेको पक्षमा मतदान गर्न अनुरोध समेत गर्नुभएको थियो ।

कार्यक्रममा अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष प्रकाश पौडेल, राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संयोजक शिशिर शाही लगायतका नेताहरुले सम्वोधन गर्दै नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरि भारी मतले विजयी गराउनका लागि आव्हान गर्नुभएको थियो ।