धवलागिरीको पर्यटन पूर्वाधारमा जोड दिन्छुः एमाले उम्मेदवार गर्बुजा

विकल्प न्यूज/बेनी
कात्तिक २६ गते ।

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा निर्वाचन क्षेत्र ९ख० का उम्मेदवार याम बहादुर गर्वुजाले धवलागिरि गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना भएकाले पुर्वाधार निर्माणमा विशेष जोड दिने बताउनुभएको छ ।

शनिवार धवलागिरि गाउँपालिका वडा नम्वर ७ को धारापानी, ताकम र वडा नम्वर ३ को मुनामा आयोजित चुनावीसभामा उम्मेदवार गर्वुजाले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल ताकमकोटमा थप पूर्वाधार निर्माण गरि आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढाउने बताउनुभयो । त्यस्तै धवलागिरी हिमाल आधार सिविर पुग्ने पदमार्गलाई व्यवस्थित गर्ने र आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

चुनावीसभामा स्थानीयहरुसंग भोटको अपिल गर्दै उम्मेदवार गर्वुजाले युवाहरुलाई स्वरोजगार बनाउने गरि कार्यक्रम नीति बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको हो । धवलागिरीमा जलविद्युत उत्पादन गर्नलाई मेघा प्रोजेक्टको रुपमा विकास गर्न पहल गर्छु, उम्मेदवार गर्वुजाले भन्नुभयो, “हाईड्रोको आयोजनाहरु धमाधम संचालन हुन थालेपछि स्थानीयहरुलाई रोजगारको वातावरण सृजना हुन्छ” ।

उम्मेदवार गर्वुजाले सिवाङको हेम माविमा क्याम्पस संचालन गर्न पहल गर्ने बताउनुभएको छ । नेकपा एमालेको सरकारले ल्याएको नमुना आवासिय विद्यालय कार्यक्रम अन्तर्गत हेम माविमा निर्माण भएको नमुना आवासीय छात्रावासलाई थप व्यवस्थित बनाउने र आफ्नो निर्वाचन क्षेत्रको अन्य दुईवटा पालिकामा पनि एक पालिका एक आवासीय छात्रावास निर्माण गरि अनाथ तथा गरिव बालबालिकाहरुलाई आवासीय सुविधा सहित शिक्षा प्रदान गर्ने योजना बनाएको बताउनुभयो ।

सभामा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज भुपेन्द्र बहादुर थापाले वर्तमान गठबन्धन मुलुकको विकास र समृद्धिका लागि नभएर भागबण्डाका लागि मात्रै भएको आरोप लगाउनुभयो । निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएका थापाले गठबन्धनमा आबद्ध दलका नेतालाई देशको विकास, समृद्धि र राष्ट्रियताप्रति चिन्ता र चासो नभएको भन्दै राष्ट्रियताको रक्षा गर्दै जनहितका काम गर्ने पार्टी नेकपा एमालेका उम्मेदवारहरुलाई आगामी मंसिर ४ को निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि भारी मतका साथ विजयी गराउन आग्रह गर्नुभयो ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला सहईन्चार्ज नरदेवी पुनले जिल्लाको विकासमा एमालेले अग्रणी भूमिका निभाउदै आएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन लगायतका क्षेत्रमा एमालेले उल्लेख्य गतिविधिहरु संचालन गरेको बताउदै नेता पुनले सम्पन्न हुने चरणमा रहेका कतिपय योजनाहरुलाई गठवन्धनको सरकारले बजेट कटौति गरि अलपत्र बनाएकाले त्यसलाई पुरा गर्नका लागि नेकपा एमालेका उम्मेदवारहरु विजयी हुन र एमालेको सरकार बन्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुवास विश्वकर्मा, जिल्ला कमिटी उपसचिव तथा धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुन, जिल्ला कमिटी सचिवालय सदस्य एवम् प्रदेशसभा ख निर्वाचन परिचालन कमिटी संयोजक खरमाया विटालु, सचिवालय सदस्य देवेन्द्र थापा, जिल्ला कमिटी सदस्य तथा युवा ईन्चार्ज दिनेश केसी, जिल्ला कमिटी सदस्य ईश्वर सुवेदी लगायतका नेताहरुले सम्वोधन गर्दै जिल्लाबाट नेकपा एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन अनुरोध गर्नुभयो । सभाको संचालन निर्वाचन परिचालन कमिटीका सचिव प्रगति कार्कीले गर्नुभएको थियो ।