पश्चिम म्याग्दीमा विकासको जग एमालेले बसालेको छ ः उम्मेदवार गर्बुजा

विकल्प न्यूज\बेनी
कात्तिक २२ गते ।


नेकपा एमालेका तर्फबाट प्रदेश सभा क्षेत्र (ख) का उम्मेदवार यामबहादुर गर्बुजाले पश्चिम म्याग्दीमा एमालेले विकासको जग बसालेको बताउनुभएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा धौलागिरि गाउँपालिकाका विभिन्न वडाहरुमा गरिएका चुनावी कार्यक्रममा उम्मेदवार गर्बुजाले एमालेको नेतृत्वको सरकारको पालामा पश्चिम म्याग्दीको विकासले नयाँ फड्को मारेको दावी गर्नुभयो । सडक,शिक्षा,पर्यटन,कृषि र स्वास्थ्यका क्षेत्रमा एमालेको नेतृत्वको सरकारले उल्लेख्य काम गरेको उहाँले बताउनुभयो ।

एमाले सरकारको पालामा पश्चिम म्याग्दी क्षेत्रका विभिन्न स्थानमा आधा दर्जन पक्की पुल निर्माण सुरु भएको उहाँले बताउनुभयो । उहाँले बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ४ बरंजा जोड्ने पक्की पुल,मंगला गाउँपालिका २ वावियाचौर देखि वडा नम्बर ३ अर्मन जोड्ने पक्की मोटरेबल पुल,मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि ३ नम्बर वडा निस्कोट जोड्ने बेलिव्रिज र मराङखोला पक्की पुल निर्माणको अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । यी स्थानमा भएका पुलहरु एमालेको नेतृत्व र पहलमा भएको उहाँले बताउनुभयो ।

चुनावी सभामा उम्मेदवार गर्बुजाले भारवाङ खोला पुल,दरवाङ ताकम मुना सडक अन्तर्गत फेदी स्थित दाङखोला,मुना देखि मुदी जोड्ने दरखोलामा पक्की पुलको काम अगाडि बढेको बताउनुभयो । विपक्षी गठबन्धनले विगतमा एमालेले जितेर केही पनि नगरेको भन्दै भ्रमको राजनीति गरेको भन्दै यी स्थानमा भएका पक्की पुल कसको पालामा सुरु भए ? गर्बुजाले प्रश्न गर्नुभयो ।

यस्ते बेनी दरवाङ सडक कालोपत्रे योजना पनि नेकपा एमालेको सरकारका पालामा अगाडि बढेको उहाँले दावी गर्नुभयो । संघ र प्रदेशमा एमाले नेतृत्वको सरकार हुँदा थालिएका विकास निर्माणका कामहरुलाई पूर्णता दिन मंसिर ४ गते हुने निर्वाचनमा संघ र प्रदेशमा एमालेलाई मत दिएर विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।

मल्कबाङ र मराङमा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले देशका गरिब, निमुखा र विपन्न समुदायको पक्षमा काम गर्ने पार्टी एमाले भएकाले आउँदो निर्वाचनमा एमालेलाई अत्यधिक भोट दिएर जिताउनुपर्ने बताउनुभयो ।

 

उहाँले आफ्नो कार्यकालमा मराङ र मल्कबाङलाई लक्षित गरी म्याग्दीखोला तथा अर्गलामा पक्की मोटरेबल पुल निर्माणको पहल, मराङ–विम जोड्ने झोलुङ्गे पुल निर्माण, विम–मराङ–मल्कबाङ सडक विस्तार तथा विद्युतीकरणलगायत थुप्रै विकास निर्माणका कामहरु गरेको बताउँदै थप काम गर्नका लागि एमालेलाई जिताउन अनुरोध गर्नुभयो ।

उम्मेदवार गर्बुजाले पश्चिम म्याग्दी क्षेत्रमा रहेको जडिबुटी तथा वनपैदावरको परिचालन, कृषि, पर्यटन र पूर्वाधारको विकास गरी जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो एजेण्डा रहेको सुनाउनुभयो ।

उहाँले मंगला, मालिका र धवलागिरि गाउँपालिकाभित्र रहेको स्रोतसाधनको परिचालनको साथै स्वदेशमै रोजगारको सिर्जना गरी युवा पलायन रोक्ने, कृषि, जडिबुटी, पर्यटन र जलविद्युतको विकास गर्ने तथा ग्रामीण क्षेत्रका सर्वसाधारण, नागरिकको आर्थिक अवस्था सुधार्न आवश्यक पहल गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्यद्वय रामचन्द्र गौतम, पदमलाल सापकोटा, एमाले म्याग्दीका उपसचिव तथा जनवर्गीय सङ्गठन संयोजक थमसरा पुन, धवलागिरि गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल, अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले जनमुखी बजेट, नीति तथा कार्यक्रम बनाएर देशको समुचित विकास गर्नका लागि एमालेलाई मतदान गरी विजयी बनाउन मतदाताहरुलाई आग्ह गर्नुभयो ।