कालिगण्डकी नदीमा फूलको तोरण तारियो (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
कात्तिक १८ गते ।

पछिल्लो समयमा हाम्रो समाजमा तोरण तार्ने संस्कृति हराउँदै जान थाले पनि केही स्थानमा भने हरिबोधनी एकादशीका दिन पुजाआरधाना गरेर नदी वारपार फुलको तोरण तार्ने पुरानो संस्कृति अझै जिवित छ ।

यही संस्कृतिलाई जोगाउँन पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीका स्थानीयहरुले हरिबोधनी एकादर्शीका दिन शुक्रबार कालिगण्डकी नदीमा तोरण तारे । सयौंको संख्यामा भेला भएका भक्तजनहरुले भजनकृतन ,बाजागाज र नाचगान सहित फुलको तोरणलाई बजार परिक्रमा गराएर कालिगण्डकी नदी किनारमा पुगेका थिए । भजनकृतन र बाजागाजा सहित म्याग्दी र कालिगण्डकी नदीको संगमस्थलमा फुलको तोरण वारपार तारिएको थियो ।

पर्वतमा बेनीमा रहेको तत्वज्ञान हिन्दु धर्म सेवा समितिको आयोजनामा प्रत्येक वर्ष एकादशी पर्वका दिन कालिगण्डकी नदीमा तोरण तारिदै आएको समितिका अध्यक्ष बलराम श्रेष्ठले बताउनुभयो । एकादशी पर्वका दिन तोरण तार्ने हाम्रो हिन्दु धर्मको पुरानो संस्कृति हो उहाँले भन्नुभयो ‘धर्म सस्कृतिको संरक्षण गर्न र नयाँ पुस्तालाई संस्कृति संरक्षणमा जागरुक बनाउन हामी प्रत्येक वर्ष एकादशीका दिन तोरण तार्दै आएका छौं ।’