ताजा समाचार:
Search

घोडेपानीमा घोडादौड प्रतियोगिता सम्पन्न (फोटोफिचर)

सुरेन गुरुङ/म्याग्दी
घोडेपानी १८ कात्तिक ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो ।

अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्क देखि घोडेपानीसम्मको सात दशमलब पाँच किलोमिटर दुरी २५ मिनेट ३८ सेकेण्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजा पुनले जानकारी दिनुभयो ।

२५ मिनेट ५३ सेकेण्डमा दुरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेण्डमा निर्धारित दुरी पार गरेर तेस्रो हुनुभएको हो । घोडेपानी घोडा व्यवसायी समितिले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा बिजयी भएका प्रथम, दृतीय र तृतीयलाई क्रमश रु. ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो । अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष क्याप्टेन डमबहादुर पुनले प्रतियोगिता उद्घाटन गर्नुभएको थियो ।

“घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ,” उहाँले भन्नुभयो “सौखिन पर्यटकहरु घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिड्न नसक्ने पर्यटकहरु घोडा चढेर गन्तब्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ । ”

प्रतियोगितामा विजयीहरुलाई घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मिना पुन, युवा क्लवका अध्यक्ष मिम बुद्धुजा, कोषाध्यक्ष सपना गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभयो । घोडेपानी युवा क्लव, आमा समुह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।

पर्यटन प्रर्वद्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको घोडेपानी घोडा व्यवसायी समितिका अध्यक्ष याम पुनले बताउनुभयो । घोडादौड अवलोकनका लागि स्थानीयवासीका साथै पर्यटकहरुको पनि उपस्थिति थियो । अन्नपूर्ण गाउँपालिका–५ का पुर्व वडा सदस्य धनबहादुर पाईजाले पाउद्धारमा पनि घोडादौड प्रतियोगिता आयोजना गर्ने तयारी भएको जानकारी गराउनुभयो ।

पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जंगलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटकहरु आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य घोडेपानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ ।

घोडेपानी र घोडाको ऐतिहाँसिक सम्बन्ध छ । परापुर्व कालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तिर्थयात्रा गर्ने र चिनीयाहरुलाई भारतीय बजार जाने आउने गर्ने बाटोमा थियो । समुन्द्रि सतहदेखि करिब दुई हजार ८०० मिटरको उचाईमा रहेको घोडेपानीमा बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको किम्बदन्ती छ ।

यसअघि बैशाख महिनामा घोडादौड प्रतियोगिता हुने गरेको थियो । घोडेपानीको छिमेकी कास्कीको घान्द्रुकमा घोडेजात्रा पर्वका अवसरमा घोडादौड प्रतियोगिता आयोजना हुदै आएको छ । दुई ठाउँमा सँगसँगै पर्ने भएकाले घोडेपानीमा यसपाली देखि शरदयाममा घोडा दौड आयोजना गरिएको हो ।

सहभागीका लागि दर्ता शूल्क प्रतिव्यक्ति रु. तीन हजार तोकिएको थियो । सहभागी हुने घोडाको लागि दानाको व्यवस्था आयोजकले गरेका थिए । घोडेपानीका होटल व्यवसायी शुशिल पुनले पर्यटकको वसाई लम्बाउन घोडेपानी देखि प्यारीबाराही ताल जोड्ने घोडा र साइकल मार्ग, तवेला, चरा अवलोकन स्थल समेत निर्माण गरिएको बताउनुभयो । आगामी वर्ष यही मार्गमा घोडा दौडाउने उहाँले बताउनुभयो ।