जोखिमपूर्ण छ बेनी–जोमसोम सडकको यात्रा

ठाकुरप्रसाद आचार्य\म्याग्दी
असोज १ गते ।

यतिखेर सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल बनेको छ । उक्त भाइरल भिडियो हो बेनी –जोमसोम सडक अन्तर्गत रुप्से झरना देखि काभ्रेभीर सडक खण्डको । सेकेन्डभरले ठूलो दुर्घटनाबाट एउटा स्र्कोपियो र पैदलयात्री जोगिए । यक्त भिडियो बुधवारको हो । उक्त स्र्कोपियो जोमसोमबाट बेनी आउँदै थियो । रुप्से नजिक काभ्रेभीर क्रसगर्दै गर्दा सडक माथिबाट ठूलो ढुङ्गा सडकमा खसेको दृश्य देख्न सकिन्छ ।

स्तरोन्नतिका क्रममा रहेको बेनी जोमसोम कोराला सडक अन्तर्गत म्याग्दी खण्डका धेरै स्थानमा पहिरोका कारण यतिखेर सडक निकै जोखिमपूर्ण बनेको छ । मुस्ताङ हिडेका तिर्थयात्री र पर्यटकले ज्यानजोखिम मोलेर यात्रा गरेका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिकाको वैसरी,अन्नपूर्णको दाना,रुप्से र काभ्रेभीरको सडक अत्यन्तै जोखिमपूर्ण रहेको बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । ‘सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो छ सकभर यो समयमा यात्रा नगर्न अनुरोध छ ’ उहाँले भन्नुभयो ।

सामान्य वर्षा हुदाँसाथ ढुंगा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने डरत्रास छ उहाँले भन्नुभयो ‘सडक अवरुद्ध हुँदा यात्रु बीचबाटोमै अलपत्र पर्ने अवस्था आएको छ । पहिरो पन्छाएर सडक सुचारु गराउन हामी निरन्तर लागिरहेका छौं तर ठूलठूला पहिरो खस्ने भएकाले सडक खुलाउन निकै कठिनाई भएको छ ।’ रातको समयमा सडक अवरुद्ध हुँदा बीचसडकमै यात्रीले दुःख र सास्ती भोगेका छन् ।

सडक माथिबाट कतिबेला पहिरो खस्ने हो कुनै ठेगान छैन । सडक माथिको भीरपाखामा ढुङ्गा झुन्डीएर खस्नलाई तयारी अवस्थामा छन् आयोजनाका सुपरभाइजर शेरचनले भन्नभुयो ‘वर्षा भइरहेको समयमा सडक माथिको भीरपाखोमा झुण्डीएर बसेका ठूलठूला ढुङ्गा खस्ने जोखिम छ ।’ वर्षा नरोकिदा सम्म सकभर मुस्ताङको यात्रा नगर्न शेरचनले सुझाउनुहुन्छ । मुक्तिनाथ दर्शन र कागबेनीमा श्रद्धा गर्न नेपाली र भारतीय तिर्थयात्रीहरु यतिखेर मुस्ताङ जान्छन् ।

बेनी देखि मुस्ताङको घाँसासम्मका विभिन्न स्थानहरुमा सडक माथिबाट पहिरो खस्ने रहेकाले सकभर मौसम सफा भएपछि मात्र यात्रा गर्न जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले बताउनुभयो ।

तिनदिन यता परेको वर्षाका कारण पहिरो खस्दा सडक क्षतविक्षत बनेको उहाँले बताउनुभयो । उहाँका अनुसार रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर,रुप्से खण्ड र मुस्ताङको सिमाना काभ्रेभिरमा सबैभन्दा जोखिम छ । वर्षा सँगै सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दालाई आवतजावतका साथै स्याउ र आलु निकासी प्रभावित भएको छ । मुस्ताङ भ्रमण, कागबेनीमा सोह्र श्राद्धको पिण्डदान तथा मुक्तिनाथ दर्शन गर्न जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई सास्ती भएको छ ।