नवौं राष्ट्रिय खेलकुद ः बेनीमा पहिलोपटक महिला भलिबल प्रतियोगिता हुने

विकल्प न्यूज\बेनी
भदौं २९ गते ।


असोजको अन्तिम हप्ता देखि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले बुधवार गण्डकी प्रदेश भित्र खेल हुने स्थलका वारेमा निर्णय गरेको हो । नवौं राष्ट्रिय खेल प्रदेशका ६ जिल्लामा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार खेलकुद प्रतिस्पर्धा हुने खेलस्थल तय गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३६ खेलमा दुई खेलबाहेक अन्य बाँकी खेलहरु भने गण्डकी प्रदेशमै हुने भएका छन् । म्याग्दी जिल्ला भलिबल संघ र जिल्ला खेलकुद समिति म्याग्दीले संयुक्त रुपमा राष्ट्रिय खेलकुद परिषद (राखेप) समक्ष महिला भलिबल बेनीमा राख्न संयुक्त रुपमा प्रस्ताव गरेका थिए । खेल पूर्वाधारको निरक्षण र अनुगमन पश्चात म्याग्दीमा महिला भलिबल खेलको प्रतिस्पर्धा गराउन संभव भएकोले राखेपले उक्त निर्णय गरेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । असोज २८ देखि कात्तिक ३ सम्म नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव हुँदैछ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्राविधिक टोलीले भौतिक पूर्वाधार र खेलकुद प्रतियोगिताको संभावनाका वारेमा स्थलगत अनुगमन गरेर फर्किएपछि म्याग्दीमा महिला भलिबल खेलको प्रतियोगिता गर्न सिफारिस भएको हो । महिला भलिबलको उर्वर भूमि म्याग्दीमा प्रतियोगिता आयोजना हुनुले सम्पूर्ण खेलप्रेमीहरुलाई उत्साह मिलेको उहाँले बताउनुभयो ।

महिला भलिबलका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पहिचान बनाउन सफल भएको,महिला भलिबलको कप्तान जन्माउन सफल भएको र म्याग्दी महिला भलिबलको उर्वर भूमि भएको आधार पेश गर्दैै हामीले महिला भलिबल प्रतियोगिता आयोजना हुनुपर्ने माग राखेका थियौं उहाँले भन्नुभयो ‘हाम्रो मागको सुनुवाई भएको छ । यसले हामीलाई उर्जा मिलेको छ ।’

महिला भलिबल म्याग्दीमा हुने निश्चित भएपछि हामी यसैको तयारीमा जुटेका छौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले भन्नुभयो ‘म्याग्दीमा राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबल खेलको प्रतियोगिता हुनु गौरबको विषय हो । सवै म्याग्दीवासीहरु जुटेर खेललाई भव्यरुपमा सफल पार्नुपर्दछ ।’

नवौं राष्ट्रिय खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गरिएको छ । प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहनेछ । भलिबल प्रतियोगिताले जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूला टेवा मिल्ने अपेक्षा व्यक्त गरिएको छ ।