प्रतिनिधिसभा निर्वाचन ः म्याग्दी काँग्रेसको भागमा,को होला उम्मेदवार !

विकल्प न्यूज\बेनी
भदौं २९ गते ।


सत्ता गठबन्धनका दलहरुका बीच सिट बाँडफाँट गर्दा प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दी नेपाली काँग्रेसको भाग परेको छ । सिट बाँडफाँट कार्यदलमा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीको प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसको मात्र एकल दावी रहेकाले सहमति जुटेको हो ।

नेपाली काँग्रेस म्याग्दीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवारका आकाक्र्षीहरु पार्टी सभापति खम्बरी गर्बुजा, संविधान सभाका सदस्य रेशमबहादुर बानियाँ र उपसभापति केबी भण्डारीलाई प्रदेश समितिमा सिफारिस गरेको छ ।

केन्द्रमा म्याग्दीको कसको भागमा पर्दछ भन्ने निर्णय नभएकाले काँग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको थिएन । म्याग्दी अव हाम्रो भागमा पर्ने करिब निश्चित भएको छ एकजना जिल्ला कार्यसमितिका सदस्यले भन्नुभयो ‘केन्द्रमा अझै सवै निर्वाचन क्षेत्रको सिट बाँडफाँट टुंगो लगेको छैन । सवै क्षेत्रको टुंगो लगाएपछि उम्मेदवारका वारेमा पनि टुंगो लाग्ला ।’ दोस्रो संविधानसभाको निर्वाचन २०७० र २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएर पराजित हुनुभएका पार्टी सभापति गर्बुजा नै यसपाली पनि उम्मेदवार हुने उहाँले दावी गर्नुभयो ।

पछिल्ला एकदशक जिल्लामा नेपाली काँग्रेसको संगठनलाई बलियो बनाउन गर्बुजाको महत्वपूर्ण योगदान रहेकाले उहाँनै उम्मेदवार बन्ने काँग्रेस स्रोतले बतायो । तर गर्बजालाई बलियो चुनौती भने संविधानसभा सदस्य तथा पूर्व पार्टी सभापति बानियाँले दिनुभएको छ ।

राजनीतिक वैचारिक रुपमा प्रष्ट र प्रखर वक्ताका रुपमा संगठन भित्र बलियो पकट बनाउनुभएका बानियाँ केन्द्रमा शेखर कोइराला पक्षधर हुनुहुन्छ । केन्द्रमा पार्टी संस्थापन र कोइराला पक्षका बीच सिटबाँडफाँट हुँदा म्याग्दी कोइराला पक्षधरले पाउने संभावनालाई पनि नर्कान सकिदैन ।

अर्को तर्फ गत मंसिरमा सम्पन्न पार्टीको सातौ जिल्ला अधिवेशनमा सवैभन्दा धेरै मत ल्याएर उपसभापतिमा निर्वाचित हुनुभएका भण्डारी पनि कम हुनुहुन्न । काँग्रेसका युवाहरु  भण्डारीलाई आमगी पार्टी सभापतिका रुपमा हेरेका पनि छन् । बानियाँ र गर्बुजाको टिकटमा मारामार हुँदा भण्डारीले फुत्त टिकट ल्याउन पनि के बेर ?

पार्टी कार्यकर्ताहरुको भावना पनि यसपटक पार्टी सभापति गर्बुजानै उम्मेदवार बन्नुपर्दछ भन्ने ति नेताले भन्नुभयो ‘अन्य आकांक्षीहरुको पनि चित्तबुझ्दो व्यवस्थापन गरेर पार्टीले प्रतिनिधिसभाका लागि यसपटक गर्बुजालाई नै उम्मेदवार बनाउँछ ।’ दुईदुईपटक पराजित भएका गर्बुजालाई गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाउँदा सहानुभूतिको मत पनि पाउने भएकाले निर्वाचन जित्न सकिने बलियो आधार तयार हुने नेकपा माओवादीका एक नेताले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा म्याग्दीमा गठबन्धन सफल नभएपनि यसपाली संघ र प्रदेश निर्वाचनमा भने जसरी पनि गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीले कुनै कसर वाँकी नराख्ने नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले बताउनुभयो । सिटवाँडफाँटमा माओवादीका भागमा संघ तथा प्रदेश जुन क्षेत्र परेपनि हामीले गठबन्धनका सवै साझा उम्मेदवारहरुलाई जिताउने गरी निर्वाचनको तयारी गर्दछौ’जुग्जालीले भन्नुभयो ।

संघको सिट नेपाली काँग्रेसले पाएपछि अव प्रदेश तर्फका दुई सिटमा भने माओवादी र नेकपा एकिकृत समाजवादीको बलियो दावी छ । माओवादीको भागमा प्रदेश निर्वाचन क्षेत्र ख लगभाग निश्चित जस्तै छ । यता निर्वाचन क्षेत्र क मा भने नेपाली काँग्रेसकै दावी छ । तर यो क्षेत्र नेकपा एकिकृत समाजवादीले पाउने संभावना पनि बलियो छ । गत स्थानीय तहको निर्वाचनमा समाजवादीले कुनै पनि स्थानीय तहमा उम्मेदवार उठाएको थिएन ।

बेनी नगरपालिका र धौलागिरिमा काँग्रेस र माओवादीबीच तालमेल हुँदा समाजवादीलाई ठाउँ दिएका थिएनन् । त्यसैले समाजवादी उनीहरुसँग चिढिएको थियो । पछि धौलागिरि,मालिका र बेनी नगर कार्यपालिकामा एक÷एक जना सदस्य दिएका थिए ।

यसपाली भने उसले एउटा प्रदेश निर्वाचन क्षेत्र पाउनुपर्ने बलियो दावी गरेको छ । तर उसको दावी भएपनि निर्वाचन क्षेत्र क भने अन्तिममा  काँग्रेसले नै पाउने संभावना बलियो छ ।संघको टिकट नपाएका काँग्रेसका उम्मेदवारका आकांक्षीलाई प्रदेशमा ल्याएर व्यवस्थापन गरी पार्टी भित्रको आन्तरिक सन्तुलन मिलाउने प्रयासमा काँग्रेस छ ।