एमाले म्याग्दी निर्वाचन प्रचारमा जुट्यो, अलमलमा गठबन्धन दलहरु

विकल्प न्यूज\बेनी
भदौं २७ गते ।

म्याग्दीमा सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले आगमी मंसिरमा हुने संघ तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न सकेका छैनन् । केन्द्रमा सत्ता गठबन्धनका नेताहरु दिनदिनै सिट वाँडफाँडमा गलफत्ती गरिरहेका छन् । अझै उनीहरुले कुन निर्वाचन क्षेत्र कसको भागमा पर्ने हो कुनै टुंगो लगाउन सकेका छैनन् । केन्द्रमा भागवण्डा नमिलेका कारण जिल्लास्तरमा नेपाली काँग्रेस र माओवादी केन्द्रले उम्मेदवार टुंगोलगाउन सकेका छैनन् ।

तर नेकपा एमाले म्याग्दीले भने प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाएर निर्वाचन प्रचारप्रसारमा जुटेको छ । आगमी निर्वाचनका लागि एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष तथा पार्टीको गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा उम्मेदवारका रुपमा अगाडी सारेर निर्वाचनमा होमिसककेको छ । उम्मेदवार सहित एमालेले गाउँअभियान थालेको छ ।
सोमबार निर्वाचन परिचालन कमिटीका तर्फबाट उम्मेदवार श्रेष्ठको तस्विर राखेर सामाजिक संचाल मार्फत मत माग्न थालिएको छ । यतिखेर नेकपा एमाले उम्मेदवार सहित जनतासँग एमाले कार्यक्रम लिएर गाउँअभियानमा निस्केको छ ।

पालिकास्तरमा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन गर्ने र अभियान सकिएपछि वडास्तरमा पुग्ने पार्टीले जनाएको छ । स्थानीय जनताको समस्या बुझ्न तथा योजना र अपेक्षा संकलन गर्नेगरी ‘जनतासँग एमाले’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न लागिएको जिल्ला अध्यक्ष देवेन्द्र बहादुर केसीले बताउनुभयो । अभियानका क्रममा  धवलागिरि गाउँपालिका धवलागिरि गाउँपालिकामा पार्टीको विस्तारित वैठक सम्पन्न भएको छ । वैठकले निर्वाचन कार्ययोजना बनाएको जिल्ला कमिटी सदस्य इश्वर सुवेदीले जानकारी दिनुभयो ।

एमाले म्याग्दीको हालै सम्पन्न जिल्ला कमिटिको वैठकबाट जनतासँग एमाले कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्नेगरी निर्णय गरेको थियो । कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य तथा प्रतिनिधिसभाका उम्मेदवार श्रेष्ठले आसन्न निर्वाचनको नतिजा पार्टीको पक्षमा आउने गरी एकतावद्ध भएर निर्वाचनको प्रचारप्रसारमा जुट्न अनुरोध गर्नुभएको छ । उम्मेदवार श्रेष्ठ स्थानीय स्तरमा पार्टी कमिटीले आयोजना गर्ने भेला तथा वैठकमा पुग्नेगर्नुभएको छ ।

यता सत्ता गठबन्धनमा आवद्ध दलहरुले भने अझै म्याग्दी कसको भागमा पर्दछ भन्ने निर्णय भएको छैन । केन्द्रमा सिट बाँडफाँडको टुंगो लागेको छैन । तर म्याग्दी नेपाली काँग्रेसले पाउने लगभग पक्कापक्की भएको एक नेताले बताए ।

आगमी निर्वाचनमा जिल्लामा पनि गठबन्धन हुने भएपछि नेकपा एमालेलाई निर्वाचनमा जित हासिल गर्न चुनौती देखिएको छ । प्रतिनिधिसभामा सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाएका कारण पार्टी एकतावद्ध भएर निर्वाचन जाने भएकाले गठबन्धन भएपनि पार्टी विजयी हुने एमालेजनहरुले आशा गरेका छन् ।

सरल र इमान्दार छविको पहिचान बनाउनुभएका श्रेष्ठलाई एमालेले निर्वाचनमा अघि सारेकाले गठबन्धन दललाई पनि निकै चुनौती खडा भएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका ६ स्थानीय तह मध्ये चार वटा स्थानीय तहमा एमालेले विजयी हासिल गरेकाले मंसिरमा हुने संघ र प्रदेश निर्वाचनमा पनि जित हासिल गर्न सकिने एमाले नेताहरु बताउँछन् ।

प्रदेश क मा राम्रो उम्मेदवार अघि सारेमा जित्न सकिने आधार भएको एमालेका एक जिल्ला कमिटी सदस्यले बताउनुभयो । पार्टीका जिल्ला अध्यक्ष देवेन्द्र केसी वा बालकृष्ण सुवेदी दुईजना मध्ये जो उम्मेदवार भएपनि गठबन्धनलाई पराजित गर्न सहज हुने आकलन गरिएको ति नेताको भनाई थियो ।
उम्मेदवारको दावी त धेरै नेताहरुले गर्नुभएको छ ति नेताले भन्नुभयो ‘जित्ने भनेको केसी र सुवेदीले मात्र हो । अहिले गठबन्धनसँग भिड्ने तागत अरु आकांक्षीहरु सँग छैन ।’ अरुले आफूलाई प्रचार गर्न रहर मात्र गरेका हुन उहाँले बताउनुभयो ।

यस्तै प्रदेश ख तिर भने एमालेलाई गठबन्धनसँग भिड्न निकै चुनौती देखिएको छ । गठबन्धनसँग लड्न एमाले सँग यो क्षेत्रमा लोकप्रिय नेता देखिएका छैनन् । गठबन्धनका तर्फबाट यो क्षेत्र माओवादीले पाउने बताइएको छ । माओवादीले जिल्ला संयोजक रेशम जुग्जालीलाई अघि सार्ने बुझिएको छ ।

हुनत यो निर्वाचन क्षेत्रका तिन गाउँपालिका मध्य मंगला र मालिकामा एमालेले जितेको छ । तर यहाँ माओवादीको पनि संगठन बलियो भएकाले गठबन्धनसँग भिड्न एमालेलाई ठूलो चुनौती छ ।