ताजा समाचार:
Search

बेनीका सुजन केसीले बनाए कोरियामा व्याट्रीबाट चल्ने गाडी

ठाकुरप्रसाद आचार्य/म्याग्दी
भदौं ९ गते ।

रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका ६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँचमहिना देखि निरन्तर गरेको कोशिसपछि चार पाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो । विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा चारवटा व्याट्री जडान गर्नुभएको छ । तिनदेखि चार घण्टा विद्युत चार्ज गरेपछि ४० देखि ५० किलोमिटर सम्म चलाउन सकिने केसीले बताउनुभयो ।

‘कोरियामा विगत ६ वर्ष देखि गाडी चलाउदै आएको थिएँ,गाडी विग्रीएमा आफै मर्मत पनि गर्दथे । म आफै गाडी बनाउन सक्छु की भनेर पाँचपटक प्रयास गर्दा अहिले गाडी बनाउन सफल भए’ केसीले भन्नुभयो । केसीले बनाएको गाडीमा दुईवटा इन्जिन जडान गर्नुभएको छ । दुईवटा इन्जिन भएपछि गाडी सहजै गुड्ने उहाँले भनाई छ ।

गाडी बनाउने तरिका युटुबमा हेरेर सिकेको उहाँले बताउनुभयो । ५ महिनाको प्रयासपछि आफूलाई सफलता हासिल भएको उहाँले बताउनुभयो । ‘गाडीको अगाडीको भागमा दुईजना वस्न मिल्ने सिट बनाएको छु । पछाडीको भागमा ५०० केजी सम्म सामान बोक्न मिल्छ’ केसीले भन्नुभयो ।

आफैले गाडी बनाएर गुडाउँदा निकै खुसी मिलेको केसीले सुनाउनुभयो । ‘गाडी गुड्ने भएको छ, अव स्ट्रक्चर जडानको काम वाँकी छ’केसीले भन्नुभयो । गाडी बनाउने पहिला देखिकै रहर थियो केसीले भन्नुभयो ‘धेरै कोशिस गर्दा बल्ल सफल भएको छु । वातावरण मिलेमा नेपाल फर्किएर गाडी बनाउने काम गर्दछु ।’ गाडी बनाएर चलाएको देखेर कोरियामा भएका र नेपालमा भएका आफन्त,साथीभाई र इन्टमित्रले बधाई दिएको उहाँले बताउनुभयो ।

gorkhapatra