ताजा समाचार:
Search

१४ करोड रुपैयाँ खर्चिदै ः दरबाङ–धारापानी सडक स्तरोन्नति

ठाकुरप्रसाद आचार्य/बेनी
भदौं ९ गते ।

बादिकाको भीरबाट तल दाङखोला तर्फ आउँदै गरेको जीप । यो स्थानमा भीर काटेर सडक बनाउन वाँकी रहेको छ ।

मालिका गाउँपालिकाको केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र जोड्ने दरबाङ देखि धारापानी सम्म सडक स्तरोन्नतिको काम भइरहेको छ । दुईवर्ष अघि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १४ करोड ३८ लाख रुपैयाँमा वहुवर्षीय ठेक्का लगाएर सडक स्तरोन्नतिको काम थालिएको हो। यसअघि निर्माण गरिएको साघुरो सडकलाई फराकिलो बनाउने र घुम्ती मिलाएर सडक ग्राभेल गर्ने योजना छ । यो सडक बेनी –दरबाङ–धारापानी–मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजना अन्तर्गत पर्दछ ।

सडक चौढा पार्ने,बादिकाको उकालोमा भीर काटेर सडक फराकिलो बनाउने,साघुरा घुम्तीलाई चौढा पार्ने,नाली,मेसनरी वाल र ग्राभेल गर्ने गरी २०७६ चैत ४ गते पूर्वाधार विकास कार्यालयले धुलिखेल ब्राइट कुवर जेभी सँग ठेक्का सम्झौता गरेको थियो । बादिकाको भीर भनेपछि आङनै सिरिङ्ग हुने जोखिमयुक्त सडक थियो ।

निर्माण कम्पनीले अघिल्लो वर्ष दरवाङ देखि दाङखोला सम्म सडक चौढा पारेर नाली र ग्यावियन झाली लगाएको छ । यसैगरी बादिकाको भीर काटेर सडक चौढा बनाएको छ । भीरको केही स्थानमा पहरा काट्न वाँकी रहेको र वर्षातको मौसम पछि लगत्तै सडक निर्माण थाल्न निर्माण कम्पनीलाई ताकेता गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।

भीरमा साघुरो सडक र घुम्तीका कारण सडक निकै जोखिमयुक्त थियो । दरबाङ देखि धारापानी सम्म ६ किलोमिटर ७ सय मिटर सडक स्तरोन्नति गरी ग्राभेल गर्ने योजनाका साथ काम भइरहेको र आगमी चैत महिनासम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो।

आप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्रयाक खोलिएको उहाँले बताउनुभयो । अव धेरै ठाउँमा भीर काट्ने काम सकिएको छ कार्यालय प्रमुख अधिकारीले भन्नुभयो ‘भीरको पुछारतीर केही स्थानमा बाँकी छ । निर्माण व्यवसायीलाई चाँढो काम गर्न भनेका छौं ।’ गण्डकी प्रदेश सरकारले स्थानीय तह केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने कार्यक्रम अनुसार योजना सञ्चालन गरिएको हो ।
अहिले सम्म ८ करोड ९१ लाख रुपैयाँ खर्च भइसकेको र चालु आर्थिक वर्षलाई ४ करोड रुपैयाँ गण्डकी प्रदेश सरकारले विनियोजन गरेको उहाँले बताउनुभयो । बादिकाको अप्ठ्यारो भीरको करिब दुईसय मिटर सडक ढलान गर्ने योजनामा उल्लेख गरिएको छ । बेनी दरबाङ मुना लुलाङ गुर्जा ढोरपाटन सडक अन्तर्गत पर्ने यो खण्डको सडक स्तरोन्नति सम्पन्न भएपछि कालोपत्रेको योजना अघि सारिने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यसैगरी धारापानी देखि मुना सम्म १३ किलोमिटर सडक स्तरोन्नतीका लागि डिपिआर तयार पारेर प्रदेश सँग योजना माग गरिएको उहाँले बताउनुभयो । दाङखोलामा पक्की पुलको काम पनि यसैवर्ष देखि सुरु गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । बेनी देखि दरबाङ सम्मको सडक कालोपत्रेको काम भइरहेको छ । बेनी देखि सिम सम्म पहिलो चरणमा सडक कालोपत्रे सम्पन्न भएको छ । भने दोस्रो खण्डको ठेक्का सम्झौता गरी काम सुरु भएको छ । तेस्रो खण्ड रणबाङ देखि दरबाङ सम्मको सडक स्तरोन्नति सहित कालोपत्रे गर्ने काम निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको छ ।