ताजा समाचार:
Search

हेम माविमा बन्यो भव्य छात्रावास भवन

विकल्प न्यूज/बेनी
भदौं ६ गते ।

जिल्लाको धवलागिरि गाउँपालिका ७ शिवाङमा रहेको हेम माध्यामिक विद्यालयमा छात्रावास भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा साढे दुईकरोड रुपियाँ लागतमा छात्रावास भवन निर्माण गरिएको हो । चार वर्ष अघि प्रदेश सरकारको नमूना आवासीय विद्यालय कार्यक्रममा छनौंट भएपछि विद्यालयमा छात्रावास भवन निर्माण थालिएको थियो । छात्रावास भवन निर्माण भएसँगै गरिब,असाह,अनाथ,भौगोलिक रुपमा टाढा रहेका विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । तत्कालिन गाउँपालिका अध्यक्ष थमसरा पुनको पहलमा विद्यालयलाई प्रदेशको नमुना आवासीय विद्यालय कार्यक्रममा समावेश गरिएको थियो ।

बिद्यालयमा आवासीय सुबिधा भएपछि दैनिक दुई तीन घण्टा दुःख कष्टका साथ भीर, जंगल र खोलाको बाटो पैदल हिडेर स्कुल जानुपर्ने समस्या हटेको छ । गरिबी र पारिवारिक वातावरण नभएर पढाइ छोड्न बाध्य भएका विद्यार्थीहरु पनि यो कार्यक्रमबाट लाभान्वित भएका छन् । छात्रावासमा वसेर पढ्न पाउँदा विद्यार्थीहरुमा उत्साह थपिनुका साथै शैक्षिक गुणस्तरमा समेत वृद्धि भएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर केसीले बताउनुभयो । चारवर्ष अघि देखि सुरु भएको नमुना आवासीय विद्यालय कार्यक्रमले शैक्षिक गुणस्तरमा वृद्धि भएको उहाँले बताउनुभयो ।

विद्यालयमा भएको पुरानो छात्रावास भवनमा निकै असुविधा थियो विद्यालयका प्रधानाध्यापक केसीले भन्नुभयो ‘छात्रावासको नयाँ भवन बनेपछि विद्यार्थीहरुलाई राख्न निकै सहज हुनेछ । भवन भित्रका संरचनाको व्यवस्थापन गरेर एकदुई महिना भित्र विद्यार्थी राख्ने तयारी गरेका छौं ।’ उहाँका अनुसार छात्रावास भवन २४ कोठा रहेको तिन तल्लाको छ । ८० जना विद्यार्थी सम्म राख्न सकिने उहाँले बताउनुभयो । छात्रावास भवनमा वस्ने विद्यार्थीहरुको हेरचाह र खानपानको व्यवस्था मिलाउन तिनजना कर्मचारीको व्यवस्था गरिएको छ ।

दुर्गम र विकट भेगका बालबालिकालाई आवासीय सुविधा प्रदान गर्न गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५\०७६ देखि विद्यालयमा नमुना आवासीय विद्यालय कार्यक्रम लागू गरेको थियो । प्रदेश सरकारबाट प्राप्त भएको बजेटले पालिकाले ठेक्का मार्फत विद्यालय नजिक रहेको झिनडाडाँमा तीन तले २४ कोठे भवन निर्माण गरेको हो । गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले दुई करोड ५५ लाख रुपियाँको लागतमा भवन निर्माण भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७६\७७ मा २ करोड र २०७७\०७८ मा एक करोड ४० लाख बिनियोजन भएकोमा जुम्ली माछापुच्छ्रे जेभीले पहिलो पटक एक करोड १५ लाख र दोस्रो पटक एक करोड ४० लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीले भवन निर्माण समयमा सम्पन्न गरेपनि प्रदेश सकारबाट थप बजेट नआउँदा भुक्तानीमा समस्या भएको उहाँले बताउनुभयो । ठेक्का सम्झौता अनुसारको सबै निर्माणका काम सकेपनि प्रदेशको सामाजिक विकास मन्त्रालयबाट बजेट निकासा नहुँदा अझै ९० लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको विद्यालयका प्रधानाध्यापक केसीले बताउनुभयो ।

छात्रावास भवन व्यवस्थापनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा दश लाख बजेट बिनियोजन गरेको विद्यालयका प्रअ केसीले बताउनुभयो । छात्रावास भवन वरीपरी घरावार गर्ने,भवनको भित्री संरचनाको व्यवस्थापन गर्न र गार्डेन बनाउन आवश्यक बजेट प्रदेश सरकारसँग माग गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । छात्राबासमा निशूल्क खाने, बस्ने सुबिधा दिएपछि भौगोलिक रुपमा दुर्गम र बिकट क्षेत्रका बिपन्न तथा अनाथ बालबालिकाहरुलाई सहज रुपमा शिक्षा हासिल गर्न सुबिधा पुगेको उहाँले बताउनुभयो ।