साउनमा सवा लाख भक्तजनले गलेश्वर मन्दिरको दर्शन गरे (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन ३० गते ।

म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा मात्रै एकलाख भन्दा वढी भक्तजनले दर्शन गरेका छन् । बेनी नगरपालिका ९ गलेश्वर धाममा साउन महिनाको सोमबार विभिन्न जिल्लाहरुबाट दर्शन गर्न आउने भक्तजनहरुको संख्या एकलाख १५ हजार अनुमान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

यसपालीको साउन महिनामा ५ वटा सोमबार परेकाले भक्तजनहरुको संख्या वृद्धि भएको हो । साउन ३० गतेको अन्तिम सोमबार विभिन्न जिल्लाहरुबाट ठूलो संख्यामा गलेश्वरको दर्शन गर्न आएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । दर्शनका लागि आएका श्रद्धालु, भक्तजनहरुको विहानै देखि लामो लाइन लागेको थियो । भक्तजनहरुलाई सहज रुपमा दर्शनको व्यवस्था मिलाइएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।

आज अन्तिम सोमबार र मौसम पनि सफा भएकाले विहानै देखि भक्तजनहरुको भीड लागेको थियो अध्यक्ष रेग्मीले भन्नुभयो ‘भक्तजनहरुले सहज रुपबाट मन्दिरको दर्शन गर्न पाउन भनेर सुरक्षाकर्मी र स्वयमसेवक परिचालन गरेर पुजालाई व्यवस्थित बनाएका छौं ।’

अन्तिम सोमबार भएकाले आजै मात्रै २० हजार भक्तजनले मन्दिर दर्शन गरेको अनुमान गरिएको उहाँले बताउनुभयो । दिउसो सम्मै मन्दिरमा भक्तजनहरुको भीड लागेको थियो । उहाँका अनुसार म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायत जिल्लाहरुबाट गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजनहरु आएका छन् ।

साउने सोमबारमा गलेश्वर शिवालयमा भक्तजनहरुलाई लक्षित गरेर विभिन्न १९ वटा समितिहरु गठन गरी पुजालाई व्यवस्थित बनाइएको कोषले जनाएको छ । गएको दुईवर्ष कोरोनाको कारणले गर्दा पूजाअर्चना गर्न नपाएका भक्तजनहरु यस वर्षको साउन पाँचवटै सोमबार भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

गलेश्वर मुक्तिनाथको प्रवेशद्वारको रुपमा मानिन्छ । अन्य महिनाहरुमा पनि गलेश्वर दर्शनका लागि नेपाल लगायत भारतीय हिन्दु धर्मालम्बीहरु दर्शनका लागि आउने गर्दछन् । मन्दिरमा संकलन भएको भेटीलाई गलेश्वर क्षेत्र विकास कोषले यहाँको भौतिक पूर्वाधार निर्माणमा खर्चिएको छ ।