खयरलेकको सुन्दरता (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
खयरलेक,साउन ३० गते ।

समुन्द्री सतह देखि करिब चारहजार ७०० मिटर उचाईमा रहेको यो हो खयर ताल । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा स्थित खयरलेक धार्मिक एवम् प्राकृतिक रुपमा प्रशिद्ध छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको खयर तालको अवलोकन र यहाँ रहेको खयरभारानीको दर्शन गर्न जनैपूर्णिमाका दिन ठूलो संख्यामा भक्तजनहरु पुग्ने गर्दछन् ।


म्याग्दीको सदरमुकाम बेनी देखि तिनदिनको पैदल यात्रा पछि खयर लेक पुग्न सकिन्छ । बेनीबाट अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरेबगर सम्म सवारीसाधनको यात्रा र तिन घण्टाको पैदन यात्रापछि पाउद्धार गाउँ पुग्न सकिन्छ । पाउद्धारमा खान खाएर ७ घण्टाको उकालो यात्रापछि ३ हजार ६६० मिटर उचाईमा रहेको खोप्रा लेक पुग्न सकिन्छ ।

खोप्रा लेकमा रहेको सामुदायिक होटलमा एकरात वास वसेपछि भोलीपल्ट विहानै खयर लेकको यात्रा तय हुन्छ । धौलागिरि,निलगिरि,अन्नपूर्ण लगायतका हिमशृङ्खला र हरियाली डाँडापाखाको मनोरम दृश्यअवलोकन गर्दै पाँच घण्टाको यात्रा पछि खयरखोला पुग्न सकिन्छ । खयरखोलमा वास वसेर भोलीपल्ट विहान करिब २ घण्टाको पैदल यात्रा पछि खयर लेक पुग्न सकिन्छ ।

जनैपूर्णिमाका दिन खयरभारानीको दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ । शुक्रबार खयरभारानीको दर्शन गर्न करिब ७०० सय भक्तजन पुगेको खयर भारानी थान क्षेत्र संरक्षण कोषका संरक्षक राजु पुनले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दी,पर्वत,बागलुङ,कास्की र काठमाण्डौं लगायतका जिल्लाहरुबाट भक्तजनहरु आएका छन् ।

कोरोनाका कारण दुईवर्ष खयरभारानीको दर्शनका लागि भक्तजनको संख्यामा कमि भएको र यसवर्ष धेरै संख्यामा भक्तजनहरु आएको उहाँले बताउनुभयो । खयरखोलामा आएका भक्तजन र पर्यटकका लागि कोषले बसोबासको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

मेरो सन्तान भएका थिएनन् १० वर्ष पहिला सन्तान हुन भनेर बर माग्न यहाँका आएकी थिएँ निर्मला भण्डारीले भन्नुभयो ‘खयरभारानीको दर्शन गरी सन्तान हुन भनेर मागेको बर पुरा भएपछि फेरी दर्शन गर्न आएको हुँ ।’ खयरभारानीको दर्शन गरी बर मागेपछि पुरा भएमा फेरी बर फिर्ता गर्न आउने प्रचलन छ ।

एकपटकको यात्रामा एउटा मात्र वर माग्नुपर्छ । एकैपटक धेरै वर माग्दा फल प्राप्त नहुने जनविश्वास छ । कसैले छोराछोरी,कसैले धनसम्पत्ति,कसैले सुखशान्ति,सुस्वास्थ्य,कसैले वैदेशिक रोजगारी,सेनामा भर्तीको वर माग्छन् । आफूले माग्न चाहेको वर यहाँका पुजारीलाई भनेपछि पुजारीले चिच्याउँदै वर माग्ने प्रचलन छ ।

भारानीको दर्शन गर्ने मौलिक विधि छ । जनैपूर्णिमाका दिन धजा,अक्षता,फूल,गहना,सुन चाँदी,नरिवल र पाठा चढाउँछन् । खयरखोलामा वास वसेका भक्तजनहरु भोलीपल्ट विहानै ३ बजे खयरलेकको यात्रा सुरु गर्दछन् । खयरलेक देखि तल रहेको धोतीखोलामा चोखो हुनुपर्दछ ।

लगाएका वस्त्र झिकेर नयाँ वा सफा लुगा लगाउनुपर्दछ र धोती खोला तरेर जानुपर्दछ । अन्नपूर्ण हिमालको दृश्य सहित सयौंको संख्यामा रहेका भक्तजनसँगैको उकालो यात्रा निकै रमाइलो हुन्छ । भक्तजनका लागि सहज होस् भनेर पाउद्धारवासीहरुले अफ्ठ्यारो स्थानमा पदमार्ग र चौतारा निर्माण गरेका छन् ।

प्राकृतिक हिसावले खयर क्षेत्र सुन्दर छ । खयर क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खला आँखै अघि देख्नसकिन्छ । ताल करिब १० हजार वर्गमिटरमा फैलिएको छ । यो ताल कहिल्यै सुक्दैन । पानीको मुल पनि देखिदैन । तालको छेवैमा खयरभारानीको थान रहेको छ । २०६९ सालमा थानको पुननिर्माण गरिएको हो । तालमा भेटिएको अनौठो शिलालाई भारानीको प्रतिक मानेर थानभित्र प्रतिस्थापन गरिएको छ ।

अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग अन्तर्गत पर्ने खोप्रा र खयर लेक पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तब्यमा परेको छ ।

पहिलोपटक खयर क्षेत्रको पदयात्रामा आउनुभएका बेनीका विमल रिजालले वास्तवमै यस क्षेत्र स्वर्गको टुक्रा जस्तै भएको अनुभव सुनाउनुभयो । म पहिलो पटक खोप्रा र खयर ताल पुगे उहाँले भन्नुभयो ‘कठिन यात्रा भएपनि यहाँ आइपुगेपछि सवै दुःख,थकान विर्साउने प्राकृतिक रमणीय स्थल रहेछ ।’ पाउद्धारवासीहरुले गाउँदेखि खयर लेकसम्म पुग्ने विभिन्न ठाउँमा पदमार्ग र चौतारी निर्माण गरेका छन् ।

प्रकाशित तस्विरहरुको स्रोत उल्लेख गरेर मात्र प्रयोग गरिदिनुहोला